चितवन,कार्तिक ३० ।
नारायणगढको नारायणी नदी किनारमा कात्तिक १५ देखि सञ्चालन भएको नारायणी महोत्सव २०७६ को समापन गरिएको छ । महोत्सवको समापन प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले गरेका हुन् । महोत्सव समापन गर्दै सुवेदीले महोत्सवले मनोरञ्जन दिनुका साथै विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा समेत योगदान पु¥याएको बताए । महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै देशको राष्ट्रिय उत्पादकत्व वृद्धिमा समेत मद्दत पुग्ने सुवेदीको भनाइ छ । एक ठाउँमा भएको उत्पादनलाई अर्को ठाउँसम्म प्रचार प्रसार गर्नका लागि स्थानीय स्तरमा हुने मेला महोत्सवले सहयोग पुग्ने सुवेदीले बताए ।
अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रेविका बाल प्रतिष्ठानको आयोजनामा महोत्सव सञ्चालन भएको थियो । महोत्सवबाट भएको आम्दानीले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, दीक्षा तथा औषधिउपचारमा खर्च गरिने रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवी थापाले बताइन् । महोत्सवको अन्तिम दिन शनिबार १५ हजार भन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गरेका महोत्सवको संयोजक रोशन राजकर्णिकारले बताए । शनिबार बिदाको दिन र पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहेका कारण समेत समापनका दिन दर्शकहरुको उपस्थिति उल्लेखनीय रहेको राजकर्णिकारको भनाइ छ । शनिबार दुर्गेशका साथै एउटा खुट्टाले मात्रै नृत्य गर्ने कलाकार रोमा न्यौपानेले समेत आफ्नो प्रस्तुति राखेकी थिइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।


