चितवन समाचार डटकम,
३० कात्तिक । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेको कामको परिणाम देखिने समय आएको बताउनु भएको छ ।
जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्ला सम्मेलनको आज उद्घाटन गर्नु हुदै उहाले परिणाम आएन भन्नेहरुको लागि जवाफ दिने बताउनु भयो । उहाले भन्नु भयो ‘प्रदेश सरकारले धेरै राम्रा काम गरेका छन्, जनता माझ गइसकेको पनि छ तर सबैले देख्नेगरी अब केही समयमा आउनेछ ।’ भौतिक विकास निर्माणको कामदेखि सोचमा आएको परिवर्तनसम्मको विकास प्रदेश सरकारले गरेको बताउनु भयो ।
उहाले भन्नु भयो–जिल्लाको विकासका के गर्न सकिन्छ भन्ने विस्तृत योजना सहित प्रदेश सरकारलाई योजना ल्याउन उहाले आग्रह गर्नु भयो । मुख्यमन्त्री पौडेलले भन्नु भयो ‘विकास चाहियो हामीलाई समृद्धि बनाउनु प¥यो भनेर हुदैन आफ्नो जिल्लामा के काम गर्ने जसको कारण जनताको जीवन स्तर माथि उकासिन्छ त्यही योजना ल्याउनुहोस ।’
संघ सरकारको इतिहास लामो छ हामी भर्खरै जन्मेको सरकार हो तर पनि अहिलेको समय अनुसार विकास गर्न खोजिराखेका छौ –उहाले भन्नु भयो । देशका सातवटै प्रदेश भन्दा भिन्न सम्भावना बोकेको ३ नं. प्रदेश भएकाले यसको विकासमा आफू चिन्तित भएको बताउनु भयो । प्रदेश अन्तरगतका जिल्ला समन्वय समितिहरु, त्यहाँका पालिका, स्थानीय निकायहरुले आफ्नो क्षेत्रको दीर्घकालिन विकासको योजना ल्याए प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा उहाले जिल्ला विकासलाई जिल्ला समन्वय बनाएर अधिकार विहिन बनाएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘देशमा काम गर्ने व्यक्तिहरु कम छन् जिल्ला समन्वयमा क्षमता भएका उर्जाशील जनशक्ति चुनिएर आउनु भएको छ तर काम पाएको छैन ।’ जिससलाई क्रियाशील बनाउने गरी आफूले सोचेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘पालिका प्रमुखहरु संघ सरकारको प्रमुख जस्तो शक्तिशाली भएको र आफै सर्वेसर्वा भएको जस्तो व्यवहार देखाउन थालेका छन्, जनताले जिताएर पठाएको व्यक्ति जनताको सेवक मात्र हुन्छ राज हुदैन ।’ जनताले सधै सम्मान गर्नु पर्ने आफूले जनताको लागि योगदान नदिने व्यवहार उनीहरुले त्याग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विकासको एउटा गतिमा मुलुक जान लागेको भन्दै केही समय मेहनत गर्नु पर्ने बताउनु भयो । कानुनको क्षेत्रमा धेरै नयाँ कानुन निर्माण भएर कार्यान्वयनको चरणमा आइसकेको उहाले जानकारी दिनु भयो । सरकारले विकासका नयाँ स्वरुपहरु ल्याउदै गरेको भन्दै यसलाई संघदेखि स्थानीयसम्मले अनुसरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सांसदहरु सहभागी हुनु भएको थियो । आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, सामाजसेवी मिना खरेल, महिला अधिकारकर्मी संगीता भट्टराई, मानवसेवा आश्रम भरतपुरलाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


