नेपालमा मधुमेहको अवस्था भयावह

काठमाडौ २८ कार्तिक । अन्तर्राष्ट्रिय मधुमेह संघको तथ्यांकका अनुसार पनि विश्वभर ४२ करोड ५० लाख मानिसमा मधुमेहको समस्या छ । यस्तै ३५ करोड २० लाख मानिस मधुमेह हुनसक्ने जोखिममा छन् ।

विश्वभर बढ्दै गएको मधुमेहको समस्या नेपालमा पनि भयावह रहेको डा.जोसीले बताए । उनका अनुसार नेपालको कुल जनसंख्याको ९ प्रतिशत नेपालीमा मधुमेहको समस्या छ ।

डा.जोशीका अनुसार मधुमेह भएका ५० प्रतिशत मानिसमा कुनैपनि प्रकारको लक्षण देखिदैन । उनीहरुको रगत परीक्षण गरेपछि मात्रै मधुमेह भएको थाहा हुन्छ ।

त्यसैले मधुमेहबाट हुने जोखिम न्युनिकरणका लागि हरेक वर्षको एकपटक मधुमेह छ वा छैन भनेर परीक्षण गर्नुपर्ने हुन्छ । तर नेपालीहरु लक्षण देखिएपछि मात्रै अस्पताल आउने गरेको डा.जोशीको भनाइ छ ।

‘विश्वभर मधुमेहको समस्या बढ्दै गएको छ, नेपालमा पनि मधुमेहको अवस्था भयाभह छ,’ डा जोशीले भने, ‘५० प्रतिशत मानिसमा लक्षण देखिदैन, तर हामीकहाँ बिरामीहरु लक्षण देखिएर वा स्वास्थ्यमा अरु जटितलाहरु आएपछि मात्र मधुमेह परीक्षण गर्न आउँछन् ।’

नेपालमा ठूलो संख्यामा लक्षण नदेखिएका मधुमेहका बिरामीहरु रहेको डा.जोशी बताउँछन् ।

नेपालमा मधुमेहको विषयमा शहरी क्षेत्रका मानिसहरुमा सचेतना भएपनि ग्रामिण क्षेत्रका धेरै व्यक्तिमा यसबारे जानकारी नै नभएको डा.जोशीले बताए ।

‘मधुमेहको विषयमा शहरी क्षेत्रमा त जानकारी छ, तर ग्रामीण क्षेत्रमा अझैपनि मधुमेहको विषयमा थाहा नपाएका मानिसहरु छन्, जसका कारण उनीहरुले समयमै उपचार पाउन सकेका छैनन्, मुटु, आँखा, नशाहरुमा समस्या देखिएर त्यसको परीक्षण गर्न आउँदा मात्र उनीहरुले मधुमेह भएको थाहा पाउँछन् ।’

मधुमेहका बिरामीलाई यी रोगको जोखिम

डा.जोशीका अनुसार मधुमेहको समयमै उपचार र नियन्त्रण नगर्दा शरीरका विभिन्न अंगहरुमा असर पुर्‍याउँन थाल्छ ।

मधुमेहले हार्टअट्याक, मुटु सम्बन्धि रोग, पक्षघात, मिर्गौला सम्बन्धि रोग, आँखाको पर्दामा समस्या ल्याउने डा.जोशीको भनाइ छ ।

युवा र बालबालिकामा पनि मधुमेह

पहिला पहिला मधुमेह रोग धनी र उमेश ढल्किदै गएका मानिसमा देखिने रोगको रुपमा लिइन्थ्यो । त अहिले बालबालिका र युवाहरुमा समेत मधुमेहको समस्या बढ्न थालेको छ ।

अस्वास्थ्यकर जीवनशैली र खानपानले युवा र बालबालिकामा समेत मधुमेहको मसस्या बढ्न थालेको डा.जोशीको भनाइ छ ।

‘आजेभोली खानपान र जीवनशैलीको कारण बालबालिका र युवाहरुमा मोटोपनाको समस्या छ, जसले गर्दा उनीहरुमा कम उमेरमै पनि मधुमेहको समस्या देखिएको छ,’ डा जोशीले भने, ‘मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैली स्वस्थ हुँनैपर्छ ।’

के हो मधुमेह ?

डा जोशीका अनुसार रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुनु मधुमेह हो । त्यसैले नेपाली बोलिचालीको भाषामा मधुमेहलाई चिनी रोग पनि भन्ने गरिन्छ । हाम्रो शरीरमा इन्सुलिन हर्मोन हुन्छ ।

यो हर्मोनले प्याङक्रियाजले उत्पादन गर्छ । शरीरमा प्याङक्रियाजको उत्पादन कम भएमा शरीरमा चिनीको मात्रा बढी हुन्छ । यदी इन्सुलिन हर्मोनले राम्रोसँग काम गरेन भने रगतमा चिनीको मात्रा बढ्छ ।

स्वस्थ मानिसको खाली पेटमा रगतको परीक्षण गर्दा सुगरको लेभल १०० भन्दा कम हुनुपर्छ । सामान्य समयमा परीक्षण गर्दा पनि सुगर लेभल १ सय ४० भन्दा कम हुनुपर्छ ।

यदी खाली पेटमा रगत परीक्षण गर्दा सुगर लेभर १ सय २६ भन्दा माथि र खाना खाएपछि २ सय भन्दा माथि छ भने उसलाई मधुमेहको समस्या भएको मानिन्छ ।

मधुमेहभए कसरी गर्ने नियन्त्रण ?

खानामा नियन्त्रण

मधुमेह भएका बिरामीले क्यालोरी बढी भएका अन्नहरु पनि कम मात्रामा प्रयोग गर्नुपर्छ । बढी क्यालोरी भएको खानाले मधुमेहलाई बढवा दिन्छ । त्यसैले मधुमेहबाट बच्न क्यालोरी बढी भएको खानामा सचेत रहनुपर्छ ।

फलफुल र सागसब्जी खाने

मधुमेह भएका व्यक्तिले फलफूल र सागसब्जीको प्रयोग गर्दा उपयुक्त हुन्छ ।

तनाव नलिने

मधुमेह लाग्नुको एउटा कारण तनाव पनि हो । धेरै तनाव लिने मानिसमा इन्सुलिन उत्पादन कम हुन्छ र मधुमेहको जोखिम हुन्छ । त्यसैले मधुमेह भएका बिरामीले तनाव लिनु हुँदैन । मुधमेह लाग्नै नदिन पनि तवनाबाट मुक्त रहनुपर्छ ।

शारीरिक व्यायाम

मधुमेहलाई बढवा दिने अर्को तत्व हो अल्छिपना । नियमित शारीरिक व्यायाम नगर्दा मानिसमा मोटोपना बढ्छ । जसले मधुमेहको जोखिम बढाउँछ । त्यसैले शरीरलाई स्वस्थ राख्न र मधुमेहबाट बच्न नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ ।

औषधिको प्रयोग

औषधिको प्रयोगले पनि मधुमेह लाग्ने सम्भावना रहन्छ । त्यसैले बिरामी हुँदा जथाभावी रुपमा औषधिको प्रयोग गर्नु हुन्दैन । बिरामी हुँदा चिकित्सकको सल्लाह तथा सिफारिसमा मात्रै औषधि प्रयोग गर्नुपर्छ ।

वर्षमा एकपटक मधुमेहको परीक्षण

मधुमेह भएका ५० प्रतिशत बिरामीमा लक्षण देखिदैन । रगतमा सुगरको लेभल परीक्षण गर्दा मात्र मधुमेह भए वा नभएको थाहा हुन्छ । त्यसैले वर्षमा एकपटक मधुमेह परीक्षण गर्नुपर्छ ।

तौल नियन्त्रण

बढी तौल भएका व्यक्तिमा मधुमेहको जोखिम उच्च हुने गर्छ । यस्तै मोटोपना भएका व्यक्तिमा मधुमेहको समस्या भएमा मिर्गौला, मुटु, आँखा सम्बन्धि रोगको जोखिम पनि उच्च रहन्छ । त्यसैले स्वस्थ रहन र मधुमेह तथा मधुमेहले निम्त्याउने जोखिमबाट बच्न तौल नियन्त्रणमा राख्नुपर्छ ।

नियन्त्रण गर्दा पनि नभएमा चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ

मधुमेह भएको अवस्थामा सबैले नियमित औषधि सेवन गर्नुपर्ने हुँदैन । तर नियन्त्रणका प्रयासले पनि मधुमेह नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्छ ।

शेयर गरौ

ताजा अपडेट