चितवन, २७ कात्तिक । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि चितवनको तीन वटा वडा १३ जना उमेद्वारले नाम दर्ता गराएका छन् ।
६ वटा राजनीतिक दलले १३ जनालाई चुनावी मैदानमा उतारेकोमा एकजना मात्र महिला उमेद्वार रहेकी छिन् । एक महानगरपालिका र एक नगरपालिकामा हुने निर्वाचनको लागि पुरुषकै बर्चश्व रहेको छ । चुनावी दौडमा क्रियाशील दलले महिलालाई भन्दा पुरुषलाई नै प्राथमिकता दिएको देखिन्छ ।
नेपाली काँग्रेसको तर्फबाट खैरहनी नगरपालिकाको वडा नंं ५ प्रतिमा कार्की (बस्नेत) लाई मैदानमा उतारेको छ । सो वडामा तत्कालिन अध्यक्ष विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएपछि उहाकी श्रीमती प्रतिमा उमेद्वार बनाएको हो । मृत्यु भएका नेताको श्रीमतीलाई चुनावी मैदानमा ल्याउदा जितिन्छ भन्ने काँग्रेसको रणनीतिले मात्रै महिलालाई स्थान दिएको देखिन्छ ।
भरतपुर १६ का लागि पाँच जनाले मनोनयनपत्र दर्ता गराएका छन् भने खैरहनी ४ मा चार जना र खैरहनी ५ मा पनि चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी नेपाल, राप्रपा (संयुक्त) र राष्ट्रिय नागरिक पार्टीले मनोनयनपत्र दर्ता गराएका छन् भने खैरहनी ४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपा (संयुक्त)ले मनोनयनपत्र दर्ता गराएको छ ।
यसैगरि खैरहनी ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टीले मनोनयनपत्र दर्ता गराएको छ । मनोनयनपत्र दर्ताको कार्यक्रम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो । अपरान्ह मनोनयनपत्र दर्ता भएको उम्मेद्वारहरुको सूची प्रकाशन समेत गरिएको छ । यस्तै कार्तिक २८ गते उम्मेद्वारहरुको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन अपरान्ह ५ बजेभित्रमा मनोनयन भएको उम्मेदवारहरुको नामावली प्रकाशन गर्न कार्यतालिका रहेको छ ।
त्यसैगरि कार्तिक ३० गते उम्मेद्वारको नाम फिर्ता लिने र सोही दिन अपरान्ह ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनु भयो ।
यस्तै उम्मेद्वारहरुलाई मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको ढकालले बताउनु भयो । मंसिर १४ गते हुने निर्वाचन विहान ७ बजेदेखि सुरु भइ अपरान्ह ५ बजे सकिने छ । निर्वाचन सकिएको दिन साँझबाट नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हेमन्त रावलले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिका वडा नं. १६ मा नेकपाबाट भक्तराज हमाल, नेपाली काँग्रेसको तर्फबाट अमृतराज हमाल, समाजवादी पार्टीका तर्फबाट अम्मर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का तर्फबाट विष्णुप्रसाद त्रिपाठी, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेले उम्मेद्वारी दर्ता गराउनु भएको छ।
खैरहनी ४ मा नेकपाको तर्फबाट वेदबहादुर अधिकारी, नेपाली काँग्रेसका तर्फबाट देवबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अनोज अधिकारी, राप्रपा (संयुक्त)को तर्फबाट सीताराम थापाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै गरी खैरहनी वडा नंं ५ मा नेकपाको तर्फबाट पुननारायण प्रधान, नेपाली काँग्रेसका तर्फबाट प्रतिमा कार्की (बस्नेत), समाजवादी पार्टीको तर्फबाट विकन महतो थारु, राष्ट्रिय नागरिक पार्टीको तर्फबाट बलराम चौधरीले उम्मेद्वारी दर्ता गराएका छन् ।


