काठमाण्डौं २५ कात्तिक । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गर्नु भएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु केही सम्बोधन भइसकेको र केही प्रकृयामा रहेको जानकारी दिनु भयो । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने समयमा अनसन बस्न नहुने बताउनु भयो ।
मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै उहाले भन्नु भयो, ‘डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन, राष्ट्रियताको विषयमा तपाइले पनि आवाज उठाउनुहोस ।’
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बस्नु भएको छ । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।
प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ । तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।


