कास्की २२ कार्तिक । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उप निर्वाचनको टिकट वितरणमा कांग्रेसले गुट उपगुट अन्त्यको सन्देश दिएकाले अब कास्की–२ मा कांग्रेसका उम्मेदवारलाई जिताएर विजयको उद्घोष गर्न आग्रह गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि कांग्रेस उम्मेदवार खेमराज पौडेलले मनोनयन पत्र दर्ता गरेपछि भएको चुनावी सभामा उम्मेदवार चयनमा केही ढिलो भएको स्वीकार गर्दै निधिले राम्रो निर्णय भएको बताए। निधिले मंसिर १४ गते हुने चुनाबमा कांग्रेसको रुख छापले बिजय हाँसिल गर्ने सन्देश लिएर काठमाडौं फर्कन चाहेको बताए।
घोषणासभामा सहभागी भएर काठमाडौं फर्कदा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पदाधिकारी साथीहरुका माझ ‘पोखरा गएको थिएँ, सन्देश राम्रो छ १४ गतेको चुनाबमा नेपाली कांग्रेसको रुख छापले अबश्य नै बिजय पाउने छ’ भन्ने सन्देश लिएर जान चाहन्छु।
‘घोषणा सभाको उपस्थितिमा कास्कीका नेताहरुको प्रतिबद्धता र कार्यकर्ताहरुको अग्रसरताबाट कांग्रेसले चुनाबमा जित्नेमा म पूर्ण बिश्वस्त छु’ उपसभापति निधिले भने ‘तर त्यसका लागि कास्की कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छ ।’
उम्मेद्वार छनौटका बिषयमा केन्द्रमा कुनै बिबाद नभएको स्पष्ट पारे। उपचुनाबमा केन्द्र आफैंले सुध्रने, गुटबन्दी अन्त्य गर्ने तथा अन्तरघात निरुत्साहन र अन्त्य गर्ने प्रयास गरेको दाबी गर्दै निधिले भने ‘त्यसलाई कार्यान्वयन गर्ने अबको जिम्मेवारी तपाईको काँधमा छ, आजैदेखि लाग्नुुस् कांग्रेसले जित्नैपर्छ।’
कास्कीमा उम्मेद्वार बन्नका लागि एकसे एक योग्य र सक्षम नेता भएको उल्लेख गर्दै उनले तर पनि एक क्षेत्रको मात्र चुनाब भएकोले एक जना भन्दा बढीलाई उम्मेद्वार बनाउन नसक्ने बाध्यत्मक अबस्थालाई बुझिदिन आग्रह गरे। त्यहि भएर नै यहाँ बोल्ने टिकटका आकांक्षी साथीहरुले पनि अत्यन्त बिबेकपूर्ण र राम्रो निर्णय गरेको स्मरण गराए। नेता निधिले लोकप्रिय र खारिएका नेताहरुले चुनाबमा गर्नु भएको योगदानको पार्टीले उचित मूल्यांकन गर्ने बिश्वास दिलाए।
कास्की कांग्रेसका सभापतिले कांग्रेसकै भोटले गत चुनाबमा नेकपाका रबिन्द्र अधिकारीले जितेको भन्ने प्रसंगलाई उल्लेख गर्दै उपसभापति निधिले आफूंग पनि रबिन्द्रले त्यहि कुरा गरेको स्मरण गराए। यदि त्यो कुरा साँचो हो भने हिजोका दिनमा कांग्रेसलाई हराउन लाग्नेहरुको हिसाबकताब गरिने उपसभापति निधिले सजग गराए।२ तिहाइको सरकारले मुलुकमा स्थायित्व कायम गर्न नसकेको अवस्थामा यो चुनावलाई विदेशीहरुले पनि महत्वका साथ हेरिरहेको उनको भनाइ थियो । यो क्षेत्रको मत परिणामले सरकार फेरबदलका लागि अंक गणितीय महत्व नराखे पनि सरकारको कार्यशैलीको मूल्यांकनमा महत्व राख्ने उपसभापति निधिले बताए।
कांग्रेस नेता पूर्व सभामुख तारानाथ रानाभाटले २ तिहाइको सरकारले मुलुकलाई झन् अन्धकारतिर धकेलेको भन्दै यसलाई सच्याउनका लागि पनि कांग्रेसको जीत आवश्यक रहेको भनाइ राखे। लामो समयदेखि पार्टीमा क्रियाशील खेमराज पौडेलको उम्मेदवारीले अब पार्टीमा पूर्ण एकताको सन्देश दिएको उनले बताए।
केन्द्रीय सदस्य जीवन परियारले विगतमा कांग्रेसका विरुद्ध भ्रम छरेर कम्युनिस्टहरुले विजय हासिल गरेको भन्दै अब जनताले बुझीसकेको र यो उपनिर्वाचनले पनि उक्त भ्रम चिरिदिने भनाइ राखे।
प्रदेश सभा सदस्य तथा कांग्रेस वैकल्पिक केन्द्रीय सदस्य कुमार खड्काले कांग्रेसलाई जहिले पनि गुट उपगुटको आरोप लाग्ने गरेकाले खेमराजको उम्मेदवारीले उक्त भ्रम हटाइदिएको बताए। पूर्व मन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापाले पौडेलको उम्मेदवारीले कास्की कांग्रेसमा उत्साह थपेको भन्दै जुनसुकै हालतमा पनि विजयी गरेरै छाड्ने प्रतिबद्धता जनाए।
उम्मेदवार खेमराज पौडेलले कांग्रेसले मुलुकको विकासका लागि गरेको योगदान नै आफ्नो जित्ने मुख्य आधार रहेको बताए। जिल्ला समितिको चुनावी रणनीति अनुसार आफू अगाडि बढ्ने भन्दै उनले आफू विजयी हुनकै लागि उम्मेदवारी दर्ता गरेको बताए।
कार्यक्रममा नेताहरु शुक्रराज शर्मा, महादेव गुरुङ, २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका उम्मेदवार देवराज चालिसे, प्रदेश सभा सदस्य विन्दुकुमार थापा थापा लगायतले यो चुनावमा कांग्रेसको जीत सुनिश्चित रहेको दाबी गरे। मुस्ताङचोकमा भएको सभामा सयौं कार्यकर्ता सहभागी थिए।
सभा अघि बाजागाजासहितको जुलुस मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरिएको थियो। ७४ वर्षे पौडेलको प्रस्तावकमा शोभियतबहादुर अधिकारी र समर्थकमा देवराज चालिसे छन्।


