काठमाण्डौं २० कार्तिक । नेपाल सरकारले भारतले जारी गरेको नयाँ नक्साबारे औपचारिक धारणा सार्वजनिक गरेको । परराष्ट्र मन्त्रालयले बुधवार साँझ विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा रहेको कालापानी भारतीय नयाँ नक्सामा परेको समाचारहरू आएकोप्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कालापानी नेपालकै रहेकोमा सरकार स्पष्ट भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कालापानी नेपालको भूभाग भएकोमा विषयमा नेपाल सरकार स्पष्ट छ ।’
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एक पक्षी निर्णय नेपाल सरकारलाई अमान्य रहेको उल्लेख छ । ‘दुई देश बिच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’
विज्ञप्तिको पूर्णपाठ
भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ । नेपाल तथा भारतका परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।
दुई देश बिच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।
नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरू बिचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ रहेको छ ।


