काठमाडौं, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ठूलो नैतिक कमजोरी भएको बताएका छन् ।
दाङमा पत्रकारसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले महराले नेतृत्व पंक्तिलाई समेत ढाँटेर अर्को गल्ती गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो । म आफैं जाँदा पनि ढाट्नु भयो । नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’
महराको गल्ती नैतिक भएको भन्दै उनले यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने बताएका छन् । उनको गल्तीबारे अदालतले आवश्यक न्यायिक निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको विश्वास छ । महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने समेत उनले बताए ।
संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख महरा पुर्पक्षका लागि थुनामा छन् ।


