काठमाडौं, १९ कार्तिक । विष्फोटका घाइतेलाई ज्यूँदै जलाएको अभियोग लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताब आलमका कानून व्यवसायीको विरोधका कारण रोकिएको आलमको बयान लिने काम फेरि शुरु भएको छ ।
आलमका कानून व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको थियो ।
आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विष्फोटक पदार्थ राखेकोलगायतका तीन कसुरमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।
झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकाले आलमको बयानमा ढिलाइ भएको जनाइएको छ । मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको थियो ।
आलममाथि ३ वटा अभियोग लगाएर जन्म कैदको सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराएपछि मंगलबार उनीसँग बयान लिन थालेको हो ।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले आलमसित बयान लिन शुरुका छन् ।
यसअघि उनले अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घटना नै नभएको जिकिर गरेका छन् । आलमले आफ्नो गिरफतारी असान्दर्भिक भएको समेत बताएका छन् । सदरमुकाम गौरमा ठूलो संख्यमा आलमका कार्यकर्ता जम्मा भएका छन् । कुनै अप्रिय घट्ना हुन नदिन अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


