काठमाडौ १९ कार्तिक । भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयको छानबिनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन् । श्रेष्ठमाथि छानबिन गरी कारबाहीको सिफारिस गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
सोमबार बिहान ७ बजे बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न सञ्चालक प्रा.डा. श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा सञ्चालकहरू रामजी रेग्मी र डा. सुबोधकुमार कर्ण छन् ।
सोमबार दिउँसो नै समितिको पहिलो बैठक बसेको थियो । बैठकले डेपुटी गभर्नर श्रेष्ठमाथि अनुसन्धान गर्नुपर्ने विषयबारे स्पष्ट जानकारी गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय छ ।
‘सरकारमार्फत आएको पत्रमा केही आरोपहरू कुन मुद्दाको सन्दर्भमा हो भन्ने स्पष्ट भएमा हामीलाई अनुसन्धान गर्न सजिलो पर्ने भएकाले माग गरेका हौँ,’ अनुसन्धान गर्न गठन भएको समितिका एक सदस्यले भने । छानबिन समितिले विभागलाई काटेको पत्र राष्ट्र बैंकले विभागलाई पठाउनेछ । नयाँ पत्रीका बाट


