काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नेकपाकाे सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकमा बुधबार र बिहीबार ग्रान्डी अस्पतालमा भएको डायलाइसिस तथा त्यसपछिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हाे ।
प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभएको पनि मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट आइनसकेकाले अगाडि के गर्ने भन्नेबारे छलफल नभएको बताए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पत्रकारहरूलाई श्रेष्ठले भने, ‘उहाँ सिकिस्त भएको होइन, तर उहाँको स्वास्थ्यमा केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ। ‘ श्रेष्ठले थपे, ‘प्रधानमन्त्रीको केही स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ, त्यो प्रतिवेदन प्राप्त भएपछि उपचारका अरु माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ।‘
मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए । डायलाइसिसपछि सामान्य अवस्थामा काम गरिरेको बताए ।
करिब १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनले नियमित औषधि सेवन गर्दै आएका छन्। साउन र भदौमा दुई पटक सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो।
उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।
गत बुधबार ग्राण्डी अस्पताल गएका प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरियो। प्रधानमन्त्री ओलीले अब साताको तीन पटक डायलासिस गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीकी निजी चिकित्सक शाह, चिकित्सक चक्रराज पाण्डे, अरुण सायमीलगायतका विशेषज्ञले ओलीको मिर्गौला प्रत्यारोपण गर्ने कि डायलासिस नै गर्ने भन्ने विषयमा छलफलसमेत गरेका थिए।
आइतबार उम्मेदवार तय गर्ने
बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार छनोटका विषयमा छलफल भएकाे र कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएकाे जानकारी दिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो ।’
उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिएका छन् । सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन । ‘कहींबाट एक जना, कतैबाट २–३ जनाको नाम सिफारिस भएको रहेछ । पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले सुनाए, ‘भोलि सचिवालय बैठक बसेर उम्मेद्वार तय गर्छौं ।’


