अपाङ्ग बालबालिकालाई सहयोग जुटाउन नारायणी महोत्सब

"उनीहरुको क्षमता अनुसारको काम दिनुपर्नेमा सभापति पोखरेलको जोड"

चितवन १५ कात्तिक । अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउन नारायणगढको नदी किनारमा आजदेखि नारायणी महोत्सव २०७६ सुरु भएको छ ।
महोत्सवको उद्घाटन संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले गर्नु भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गरेको हो । महोत्सव उद्घाटन गर्दै सांसद पोखरेलले फरक क्षमता भएका व्यक्तिहरुले सामान्य मानिसले जस्तै काम गर्न सक्ने बताउनु भयो । पढ्न लेख्न नसक्ने व्यक्तिसँग अन्य सीप र क्षमता हुने उल्लेख गर्दै पोखरेलले उनीहरुलाई क्षमता अनुसारको काम दिनुपर्ने बताउनु भयो । फरक क्षमताका व्यक्तिलाई समेत समाजमा मान्छे भएर बाँच्न पाउने अधिकार प्रदान गर्नुपर्नेमा पोखरेलले जोड दिनु भयो ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय भन्दा बढी विभिन्न व्यवसायिक स्टलहरु रहेका छन् । महोत्सवको उद्घाटन सत्रमा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले फरक क्षमता भएका व्यक्तिहरुलाई सीपमूलक कार्यक्रमहरु प्राथमिकतामा राखेर सञ्चालन गरिनुपर्ने बताउनु भयो ।


अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले उपेक्षित गरेको राष्ट्रिय सुस्त मनःस्थिति कल्याण प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मलकुमार श्रेष्ठले गुनासो गर्नु भयो । अदालतले अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवन निर्वाह गर्न सक्नेगरि भत्ता दिनुपर्ने आदेश जारी गरेको भएपनि राज्यले त्यसलाई अटेरी गरेको श्रेष्ठले बताउनु भयो । महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, दीक्षा र स्वास्थ्यमा खर्च गरिने रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुबी थापाले बताउनु भयो । रेविका बाल प्रतिष्ठानमा २५ जना अपाङ्गता भएका बालबालिकहरु राखेर उपचार भइरहेको थापाको भनाइ छ । महोत्सवको उद्घाटनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका प्रतिनिधि कृष्ण केसी, नेपाली काँग्रेस चितवनका सभापति उत्तम जोशीलगायतले मन्तव्य राख्नु भएको थियो ।
रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य दाताराम घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो । यसैबीच, महोत्सवमा आज राष्ट्रिय लोक दोहोरी गायक बद्रि पंगेनी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको विशेष प्रस्तुती रहेको थियो । सांस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार चर्चित गायक प्रमोद खरेल, भुवन प्यासीको प्रस्तुती रहनेछ । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरु एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका संयोजक रोशन राजकर्णिकारले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट