चितवन समाचार डटकम
१५ कात्तिक । चितवमा आएको डेंगुको महामारीको असर यहाँको पर्यटन क्षेत्रमा परेको छ ।
दसैं तिहारमा आन्तरिक पर्यटकको भिड लाग्ने यहाँका पर्यटकीय क्षेत्रमा यस वर्ष ह्वात्तै सख्या घटेको पाइएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले भन्नु भयो ‘डेंगुको महामारीको असर यहाँको पर्यटन क्षेत्रमा प¥यो, घुम्न आउनेहरु जोखिम किन मोल्ने भन्दै आएनन् होटलहरु सुनसान भए ।’ गएको वर्ष होटलहरु भरिभराउ हुनेमा यस वर्ष २५ प्रतिशत भन्दा धेरैले कमी आयो, कोठा नपाउने समस्या भएन ।
यहाँका मानिसमा डेंगु लागेर अस्पताल भर्ना भएको विषय देशभरी चर्चामा आएपछि अन्तरिक पर्यटकहरु विदामा आउने कमी भयो उहाले भन्नु भयो । यही समयमा गत वर्ष दसैंदेखि तिहारसम्म अन्तरिक पर्यटकको भिड लाग्ने गरेको थियो अहिले सुनसान जस्तै भएको छ अध्यक्ष भट्टराइले भन्नु भयो । दसैंको दुइदिन र तिहारको दुइदिन मात्र पर्यटकको सख्या बढेको थियो अन्य दिन सुनसान । चितवन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको उहाले बताउनु भयो ।
सेवेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीले भन्नु भयो ‘रोगको हल्ला र पर्यटकमा नयाँ पनको खोजीले गर्दा सौराहा आउनेको सख्यामा कमी आएको हो ।’ गएको वर्ष यही समयमा हप्ता दिन अगाडि कोठा बुक गर्नु पर्दथियो तर अहिले त्यस्तो भएन तर अहिले पर्यटक कुरेर व्यवसायीहरु बसेका छन् । चिनियाँ पर्यटकको सख्यामा कमी नआएपनि अन्तरिक पर्यटकको सख्या भने ह्वात्तै घटेको छ उहाले भन्नु भयो ‘अब नयाँ योजना नल्याउने हो भने सौराहा आउने पर्यटकहरु अन्यत्र जान सक्छन् ।’
क्षेत्रीय होटल संघ सौराहाका पूर्व सचिव दामोदर रेग्मीले भन्नु भयो ‘भन्नलाई २५ प्रतिशत घटेको भने पनि वास्तममा ५० प्रतिशत पर्यटक यस वर्षको चाढमा घटेका छन् ।’ उहाले भन्नु भयो ‘प्रमुख कारण डेंगुको महामारी हो अर्को आर्थिक मन्दीले गर्दा घुम्न आउन छाडे ।’ यही विदाको समयमा घुम्न आउन बुक गरेकाले क्यान्सिल गरे उहाले भन्नु भयो ‘कारण सोध्दा डेंगु लाग्यो भने के गर्ने भन्दै सौराहा आउन छाडेर अन्यत्र गए ।’ त्यही जंगली जनावर त्यही राप्ती किनार छ अन्य आकर्षक कार्यक्रम राखिएको छैन त्यसैले पर्यटकलाई तान्ने कार्यक्रम जरुरी रहेको उहा बताउनु हुन्छ ।
चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘पर्यटकलाई बाधेर राख्न सकिदैन त्यसैले अहिले चितवन आउने आन्तरिक पर्यटक पहाडी जिल्लातिर जान थालेका छन् ।’ पहिलो यहाँ चलेको डेंगु रोगको महामारी अर्को नयाँ ठाउँ हेर्ने रहर त्यसैले चितवनमा यस वर्ष आन्तरिक पर्यटकको सख्यामा भारी गिरावट आएको छ सुवेदीले भन्नु भयो । अहिले मुस्ताङको मुक्तिनाथ, रारा, हलेसी, पाथीभरा, कालिञ्चोक लगायतको स्थानमा पर्यटको सख्या वृद्धि भएकाले सौराहामा कमी आएको हुन सक्ने यहाँका पर्यटन व्यवसायीले निश्कर्ष निकालेको उहाले बताउनु भयो ।
चितवनमा गएको साउन यता अहिलेसम्म डेंगु रोग लागेर प्रभावित हुनेको सख्या ४ हजार ३ सय ८३ जना रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले भन्नु भयो ‘यो सख्या अहिलेसम्मकै उच्च हो, अब विस्तारै विरामी घट्दो क्रममा रहेका छन् ।’ पर्यटकलाई बास बस्नको लागि सौराहामा मात्र करिब १२० वटा होटल र ८० वटा रेष्टुरेष्ट रहेका छन । त्यो भन्दा बाहेक, मेघौली, पटिहानी, जगतपुर, जुगेडी, भरतपुर, त्रिशुली किनार लगायतका स्थानमा पर्यटक केन्द्रीत एकसय भन्दा धेरै होटलहरु रहेका छन् ।


