नेपालगञ्ज, १५ कार्तिक । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाबाट पेस्तोलसहित तरुण दलका नगर सभापतिसहित ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्ज उपमहानगरपालिका–२० नमस्ते भिलेज रिसोर्टबाट बिहीबार राति साढे ८ बजे पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको हो ।
नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजााच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ रामबाघ बस्ने बर्ष ३२ को संदीपजङ्ग शाह, दिनेश शाही, राघब शाह सानु, माधब नेपाली, जयबहादुर बुढा र प्रितम थापामगर छन् । पक्राउ परेका संदीपजङ्ग शाह तरुण दल नेपालगञ्जका नगर सभापति रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताएका छन् ।
फाइल फोटो


