काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ ।
बुधबार धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस शुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जानकारी दिएको छ ।
तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले निकालेको विज्ञप्तिमा भने डायलासिस गरिएको बारे कुनै कुरा खुलाइएको छैन ।
बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।
तर अस्पताल स्रोतले भने प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उनी अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ ।
प्रधानमन्त्रीको रगतमा हानिकारक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उनलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि उनले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो ।
तर, सहजताका लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डी अस्पतालमा उनको स्वास्थ्य जाँच थालिएको हो । यसअघि गएको साउन र भदौमा प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार भएको थियो । त्यतिबेला शरीरबाट ‘एन्टिबडी’ हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो ।
अहिले रगतमा फेरि क्रेटिनिन, युरिया र पोटासियम बढ्नुको अर्थ प्लाज्माफेरेसिस धेरै प्रभावकारी नभएको संकेतका रुपमा बुझ्नुपर्ने एक मिर्गौला विशेषज्ञहरु बताउँछन् । केही गरी अहिलेको मिर्गौलाले काम गर्न नसक्ने भए फेरि मिर्गौला प्रत्यारोपण गर्ने विकल्प प्रधानमन्त्री ओलीसँग बाँकी नै छ । दुई वा दुईभन्दा बढी पटक मिर्गौला प्रत्यारोपण गरेर पनि मानिस स्वस्थ रहन र सक्रिय रूपमा काम गर्न सक्छन् ।
ग्राण्डी अस्पतालमा अहिले भइरहेको उपचार अस्पताल र प्रधानमन्त्री कार्यालय दुवैले गोप्य राखेका छन् । उपचारका लागि बिहान प्रधानमन्त्री अस्पताल पुग्दा प्रधानमन्त्री कार्यालयले उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएको र केही छिनमा फर्किने बताएको थियो ।
दिनभर नै प्रधानमन्त्री कार्यालय वा अस्पतालले उनको उपचारबारे कुनै ‘अपडेट’ दिएनन् । साँझ ग्राण्डी अस्पतालका प्रमुख चक्रराज पाण्डे र ग्राण्डीकी नेफ्रोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र भोलि अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ ।
प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया वा पोटासियम बढेको वा उनको डायलासिस गरिएको कुनै पनि कुरा विज्ञप्तिमा उल्लेख छैन । ग्राण्डी अस्पतालमा पनि प्रधानमन्त्रीको उपचार अति गोप्य राखिएको अस्पताल स्रोतले बतायो । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका रिपोर्ट पनि अति गोप्य राखिएको छ । सीमित डाक्टरहरूको टोलीले मात्र यी रिपोर्ट हेर्न पाएको छ । ‘ल्याबमा टेस्ट गर्दा पनि रिपोर्टहरू अति गोप्य राखिएका छन्,’ स्रोत भन्छ ।


