चितवन ९ कात्तिक । भरतपुर महानगरपालिकालाई सडकपेटीमा मानव बासमुक्त घोषणा गरिएको छ ।
भरतपुर महानगरपालिका कार्यालयमा आज भएको एक कार्यक्रममा असहाय असहारा सहयोगापेक्षी मानव मुक्त घोषणा गरिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र बाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्नु भएको हो ।
मानवसेवा आश्रमको सहयोगमा महानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा आज भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् । कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै महानगर प्रमुख रेनु दाहालले घोषणासंगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले चितवनमा सडक मानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताउनु भयो । उहाँले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घर भाडा महानगरले तिरिदिने बताउनु भयो । उहाँले मानव सेवा आश्रमलाई महानगरले सवारी साधन दिने समेत बताउनु भयो ।
घोषणापूर्व नारायणगढको क्याम्पाचौरबाट शोभायात्रा निकालिएको थियो । शोभायात्रा बजार परिक्रमा गरी महानगर परिसरमा आएर कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुले प्रतिवद्धता मन्तब्य राखेका छन् । शोभायात्रामा सयौंको संख्यामा सहभागीहरु रहेका थिए ।
सरकारी कार्यालय, संघसंस्था अस्पताल सबैले आआफनो ब्यानरमा सहभागिता जनाएका थिए । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको थियो । यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडकमा वास बस्ने असहाय मानवलाई वास दिने काम सरकारको हुनु पर्ने बताउनु भयो । एउटा सस्थाले सात वर्ष अगाडि सुरु गरेको यो अभियानलाई तीनै तहको सरकारले आत्मसाथ गरेकाले आउदा दिनमा मानव सेवा आश्रमलाई नै यो जिम्मा दिनु राम्रो नहुने बताउनु भयो । मकवानपुर जिल्लाले जिल्ला घोषणा गरिसकेकाले आउदा दिनमा अन्य जिल्लाका स्थानीय तह हुदै जिल्ला र देश घोषणा गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मानवसेवा आश्रम निर्माणको लागि १२ कठ्ठा जग्गा दिएको जानकारी दिनु भयो । भरतपुर पछि वीरगञ्जलाई घोषणा गर्न आफू प्रतिवद्ध भएको जानकारी दिनु भयो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशीलगायतले घोषणाको स्वागत गर्नु भएको थियो ।


