आलमको कर्तुत : सिलिङ फ्यानमा उल्टो झुण्ड्याएर मार्न खोजेका थिए

रौतहट, ६ कार्तिक । अत्तरको बासना ढोकासम्मै मगमगाइरहेको थियो । डिएसपी नवीन कार्कीले बाहिरैबाट एक जना सहयोगीलाई सोधे, ‘मान्य ज्यू होइसिन्छ ?’ उनले जवाफ दिए, ‘मन्त्रीजी त लुगा लगाइरहनु भएछ !’ ‘मान्य ज्यू’ चाहिँ भित्रैबाट कराउन थाले, ‘ए, तिमीहरू मलाई नसोधी किन आएको ?’ यसपछि इन्स्पेक्टर पप्पु नायक रन्किए, ‘साले, अपराधीलाई सोधेर आउनु पर्ने…?’ ‘मान्य ज्यू’ पड्किन थाले, ‘अरे, को अपराधी छ रे यहाँ ?’

सांसद आफ्ताव आलमलाई गौरस्थित उनकै घरबाट गिरफ्तार गर्दाको दृष्य हो यो । ढोकादेखि नै शुरु भएको भनाभन क्रमशः चर्किंदै गयो ।

डिएसपीले भने, ‘हजुरलाई लिन आएको, जिप्रका जाऔं ।’ उनले ‘किन जाने म ?’ भन्दै अस्वीकार गरे । डिएसपीले पक्राउ पुर्जी देखाएर भने, ‘हाम्रो गाडीमा चढौं ।’ आफ्तावले मानेनन् । ‘गुण्डागर्दी गर्ने ? सर्वोच्च अदालतले मुद्दा नचलाउने भनेको छ ।

त्यहीमा पुर्जी ल्याएर आउने ?’ यसो भन्दै उनी कसैलाई फोन डायल गरिरहेका थिए ।
इन्स्पेक्टर पप्पुले मोबाइल खोसेर हत्कडी निकाले । यतिञ्जेलमा धेरै मान्छे भेला भइसकेका थिए । डिएसपीले भने, ‘पहिला जिप्रका जाऔं, अनि उतै कुरा गरौंला ।’

आफ्तावले ‘एसपीलाई यहाँ पठाउनुस् । म मन्त्री भएको मान्छे किन पुलिसको थानामा जाने’ भन्दै गलफत्ति गर्न थाले । प्रहरीको गाडीमा पनि चढ्न मानेनन् । इन्स्पेक्टरले वाकिटकीबाट कन्ट्रोललाई कल गरे, थप मद्दत टोलीलाई मुभ गराई दिनु भनेर ।

यसपछि पुलिसले तानेर भए पनि लैजान्छ भन्ने पर्‍यो होला, बल्ल आफ्ताव गले । भने, ‘मेरै गाडीमा गए हुँदैन ?’ त्यसपछि उनैको गाडीमा इन्स्पेक्टरसहित पाँच जनाले बीचमा राखेर जिप्रका पुर्‍याए ।

घरबाट जिप्रका पुग्दासम्म प्रहरीलाई यति धेरै मुख छाडे कि, एक जना प्रहरी झापड हान्ने पोजिसनमा पुगिसकेका थिए, तर इन्स्पेक्टरले औंलो तेस्र्याएर चेतावनी दिएपछि हात झारे ।

जतिबेला प्रहरी आफ्तावको घर पुगेको थियो, त्यसबेला उनी एउटा विवाहका लागि पिपरा भवानीपुर जाने तयारीमा थिए ।

सहयोगीहरूमध्ये कोही लुगामा आइरन लगाइरहेका थिए त कोही जुत्ता पालिस गरिरहेका थिए । प्रहरी पुग्दा चाहिँ एक जना सहयोगी सानो कैचीले जुँगा मिलाउँदै थिए । उनीसँगै पिपरा भवानीपुर जानका लागि बाहिर १५–२० वटा मोटरसाइकलमा कार्यकर्ताहरू बसेका थिए ।

यसरी अहिले पक्राउ पुर्जी जारी भएको मुद्दा ०६४ सालको थियो, बमको छर्राले घाइते भएका कार्यकर्तालाई जिउँदै इँटा भट्टामा हालेर जलाइएको । तर, पक्राउपछि उनीमाथि अर्को मुद्दा पनि लाग्दैछ, अपहरणको ।

रौतहट हत्याकाण्ड : विष्फोटको राति नै प्रहरी इन्चार्जको सरुवा

०५७ सालमा जतिबेला उनी गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा बन राज्यमन्त्री थिए, मुद्दा त्यहीताकाको हो । उनले सामान्य विवादमा रौतहटका जिविस सदस्य जयप्रकाश कौशललाई अपहरण गरी काका शेख इद्रिसको घरमा बन्धक बनाए ।

सिलिङ फ्यानमा उल्टो झुण्ड्याएर तीन दिनसम्म अमानवीय यातना दिए । यो कुरा संसदमा उठ्यो । तर, सरकारले जवाफ दिएन ।

प्रमुख प्रतिपक्षी एमालेले यही कारण तीन दिनसम्म बैठक अवरुद्ध पारेपछि पुनरावेदन अदालतका न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन भयो । त्यसले दिएको प्रतिवेदनले अपहरण ठहर गरेपछि राज्यमन्त्रीबाट हटाइए । तर, कारवाही योभन्दा अगाडि बढ्न सकेन ।

अपराधशास्त्रको एउटा मान्यता छ, ‘बाख्रा चोरले उन्मुक्ति पायो भने हौसिएर पछि ज्यानमारा बन्छ । तर, बाख्रा चोरेको कसुरमा दुई कोर्रा लगायो भने ऊ त्यतिबेलै सुध्रिन्छ ।’ आफ्तावको अपराध श्रृंखला पुरानो हो । पहिलाका सामान्य कसुरमा मुक्त हुँदै आए, जसले ठुल्ठूला अपराध गर्न हौस्यायो ।

त्यसमाथि माधव नेपालले आफू प्रधानमन्त्री हुँदा कांग्रेसबाट प्राप्त लिष्ट र सत्ता समिकरणको बाध्यताका कारण श्रम मन्त्री बनाए । ०७५ वैशाखमा उनलाई पक्राउ गर्न प्रधानमन्त्री आफैंले ताकेता गरे । तर, विभिन्न दबाबका कारण पक्राउ पर्न सकेनन् । त्यसपछि प्रम ओलीले गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिए, त्यहाँका तत्कालिन एसपी यज्ञविनोद पोखरेल (हाल सुनसरी) लाई जिल्लाबाट तानेर अर्को एसपी पठाउने ।

तर, पूर्व माओवादी केन्द्रका नेता प्रभु साहले सीधै प्रचण्डकहाँ पुगेर भने, ‘आफ्तावलाई समात्यो भने जातीय हिंसा हुन्छ ।’ यज्ञविनोदपछि भूपेन्द्र खत्री पुगे । भूपेन्द्रले पनि ६ महिनासम्म केही गर्न सकेनन् ।

तर, प्रहरी संगठन नै अप्ठेरोमा पर्ने स्थिति आएपछि दशैंको टीकाको भोलिपल्टै हेडक्वार्टरको टोली रौतहट पुगेको खबर जनआस्थाले छापेको छ । जिल्लाले केही गर्न सकेन, हेडक्वार्टर पुग्नुपर्ने भयो भन्ने पर्ला भनेर टोली गएको भोलिपल्टै आफ्ताव समातिएका हुन् ।

शेयर गरौ

ताजा अपडेट