चितवन ५ कात्तिक । सञ्चार रजिष्टारको कार्यालय प्रदेश नम्बर ३ हेटौडाले तयार पारेको सञ्चार सम्वन्धी कार्यविधि मस्यौदा माथि मंगलबार भरतपुरमा छलफल गरेको छ ।
रजिष्टारको कार्यालय र नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा भएको कार्यक्रममा पत्रकार तथा सञ्चार माध्यमलाई व्यवस्थित र शसक्त पार्ने गरी कार्यविधि मस्यौदा तयार पारेको छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक दिएर आयोजना गरेको कार्यक्रममा कार्यालयबाट आउदा दिनमा हुने कामको विषयमा जानकारी दिइएको थियो । रजिष्ट्रारको कार्यालयका प्रमुख रेवती सापकोटाले पत्रकारले आफ्नो जीवनकालमा गरेको कार्य अनुभव, क्षमता वृद्धि फेलोसिपदेखि उसको सम्पूर्ण विवरण राख्नेगरी व्यवस्था गर्न लागेको जानकारी दिनु भयो ।
कायविधिमा प्रदेशको आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी अनुसन्धान गर्ने, पत्रकारिता, सञ्चार तथा सूचना प्रविधिमा शोधपत्र तयारीका लागि पत्रकारलाई शोधवृत्ति दिने, कार्य सम्पादनका सिलसिलामा दुर्घटनामा परेका पत्रकारलाई क्षतिको आधारमा रु ३० हजारसम्म सहयोग दिने उल्लेख छ ।
दुर्घटनामा मृत्यु भएका पत्रकारका परिवारलाई रु ५० हजार तथा पत्रकारलाई घातक रोग लागेमा उपचारका लागि रु ७५ हजारसम्म आर्थिक सहायता दिने, महिला पत्रकारले सञ्चालन गरेका टेलिभिजन, एफएम रेडियो वा दैनिक पत्रिकाका हकमा वार्षिक रु ५० हजार अनुदान दिने, पत्रकारलाई लेखन वृत्ति दिने, खोज अनुसन्धान गरी समाचारमूलक सामग्री लेख्न चाहेमा रु ५० हजारसम्म सहयोग दिने, ज्येष्ठ पत्रकारलाई मासिक वृत्ति दिनेलगायतका विषय व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाले सञ्चारलाई अझै व्यवस्थित पार्ने उहाले जानकारी दिनु भयो । आफ्नो शैक्षिक प्रमाणपत्र, नागरिकता, अनुभवको कागजात पासवर्डको माध्यामबाट वेवसाइडमा राख्ने व्यवस्था मिलाएको जानकारी दिनु भयो । स्वास्थ्यको अवस्थाको विषयमा पनि जानकारी दिने गरी व्यवस्था गर्न लागेको उहाको भनाइ छ । संघीयतामा पूर्ण रुपमा जाँदा सूचना विभाग र प्रेस काउन्सिल समेत नहुने भएकाले रष्टिारको कार्यलबाटनै परिचयपत्र सहित अन्य सेवा दिने भएकाले यसको महत्व वृद्धि भएर जाने जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउनका लागि निकै गृहकार्य गरेर कायविधि तयार गरेको जानकारी दिनु भयो । पत्रकारको सुझावका आधारमा विधि निर्माण गर्दै जाने भएकाले सकरात्मक रुपमा लिएको बताउनु भयो । श्रमजीवी ऐन लागू गर्न साना भन्दा ठूला सञ्चारमाध्यममा समस्या देखिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, सिर्जना अर्याल, प्रदेश महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य राखेका थिए ।


