काठमाडौं, १७ असोज :
अहिलेसम्मकाे अनुमानअनुसार पानी पार्ने प्रणाली मनसुन दिनप्रतिदिन कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन् ।
दसैंमा वर्षाले खासै असर नपुर्याउने उनीहरूको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दसैं अवधिभर मनसुन नबाहिरिने भए पनि सामान्य, क्षणिक वर्षाबाहेक त्यस्तो ठूलो पानी पर्ने सम्भावना छैन। ‘मनसुन क्रमशः कमजोर नै हुँदै गएको देखिएको छ,’ वर्षा भए पनि छिटफुट, क्षणिक र सामान्य खालको मात्र हुने उनको अनुमान छ ।
‘कतै कतै मध्यसम्म पनि वर्षा हुन सक्ने देखिन्छ, ‘तर बाढीपहिरो जाने, सतर्कता अपनाउनुपर्ने अवस्था छैन।’ भारतको पूर्वी उत्तर प्रदेश तथा विहार आसपास न्यून चापीय प्रणाली छ। त्यस्तै अर्को न्यून चापीय प्रणाली बंगलादेश आसपास छ। यिनै मौसमी प्रणालीको सामान्य प्रभाव नेपालमा परेको हो।
मौसमविद् विभूति पोखरेलका अनुसार आज लगभग देशैभर आंशिकदेखि सामान्यसम्म बदली छ भने केही स्थानमा सामान्य वर्षा हुने सम्भावना छ तर कतै भारी वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।


