दान गरेर नथाक्ने दानकी देवी मैयादेवी

चितवन समाचार डटकम
चितवन :
दानकी देवी मैयादेवी । सामाजिक क्षेत्रमा दान गरेर नथाक्ने व्यक्तित्व हुन् सुश्री मैयादेवी श्रेष्ठ । राजनीतिक क्षेत्रमा लागेर पनि सामाजिक संघ सस्थालाई आफ्नो व्यक्तिगत सम्पत्ति दान गरेर परिचित श्रेष्ठ अहिले प्रतिकुल स्वास्थ्यका कारण आराम गर्दै आउनु भएको छ ।

विवाह नगरी बस्नु भएकी श्रेष्ठको हेरचाह धर्मपुत्र टंकनाथ पौडेलले गर्नुहुन्छ । श्रेष्ठको पालनपोषण स्वास्थ्यको हेरचाह धर्मपुत्रकै निगरानीमा भएको छ । पछिल्लो केही महिनादेखि उहाँ अस्वस्थ भइ घरमा नै आराम गरेर बस्नु भएको छ ।

दानकी देवी मैयाले एक, दुइ लाख, एक, दुइ करोड होइन अहिलेसम्म ८२ करोड रुपैयाँ दान गरिसक्नु भएको छ । सानाठुला गरी कति दान गर्नु भएको छ भन्दै फेरिस्ता तयारको क्रममा उहाँका धर्मपुत्र पौडेल लाग्नु भएको छ ।

नेपाली काँग्रेसकी नेतृ उहाँ पार्केन्सस रोगबाट पीडित हुनुहुन्छ । यो रोग लागेको व्यक्तिको हात हल्लने समस्या आउँछ । हात हल्लने काप्ने समस्याबाट उहाँ गुज्रनु भएको छ । उहाँको बैककमा स्वास्थ्य उपचार गरेपनि समाधान भने भएको छैन ।

वुबा डिठ्ठा बीरबहादुर श्रेष्ठ आमा गणेशकुमारी श्रेष्ठको कोखबाट वि.सं. १९८५ फूलपातीको दिन तनहुँको वन्दीपुरमा जन्मनु भएको उहाँ भरतपुर महानगरपालिका क्षेत्रपुरमा बस्दै आउनु भएको छ । ९१ वर्षीय श्रेष्ठलाई अहिलेको राजनीतिक अवस्थादेखि चिन्ता लागेर आएको बताउनु हुन्छ । विकास र समृद्धिको लागि लडाइ गरियो तर सोचे अनुसारको समाचा सुन्न नपाएको भन्दै चिन्ता लिनु भएको छ ।

राजनीतिक दलहरु एक भएर विकासको काममा ध्यान नदिएको भन्दै चिन्ता गर्नु हुन्छ । ‘हिजो राजा फाल्नको लागि एक भएका राजनीतिक दलहरु अहिले आपसमा नमिलेर बाजाबाज गरेका छन्’ उहाँको भनाइलाई उदृत गर्दै धर्मपुत्र पौडेलले भन्नु भयो ‘राजनीतिक स्वार्थ त्यागेर विकास गर्नु पर्दछ, समाचार सुन्दा हेर्दा ज्यादै चिन्ता लागेर आउछ ।’

काँग्रेस वा कम्युनिष्ट सबै एक भएर विकासका कार्यमा लागे मात्र देशले मुहार फेर्दछ । आफ्नो पार्टीको एजेण्डाका विषयमा विवाद गरेर बस्नु भन्दा प्रेम भावले जनताको हितका पक्षमा काम गर्नु नै जनताको मुहारमा खुसी ल्याउनु पर्ने उहाँको भनाइ छ ।
‘राणा शासन फालियो, पञ्चायत फालियो, राजा फालियो यी सबै काममा दलहरु एक भए ’ उहा भन्नुहुन्छ ‘तर देश र जनताको विकासमा किन दलहरु एक हुदैनन् ? एक नभएको समाचार सुन्दा ज्यादै चिन्ता लाग्छ ।’ सनातन हिन्दू धर्म मान्ने हाम्रो देशमा मिलेर बस्नुको बिकल्प नभएको उहाको भनाइ छ ।
राजनीतिक स्वार्थको कारण जनताले दुःख पाउने अबस्था आउन हुदैन । हामी यो धर्तीमा मानवको सेवाको लागि आएका हौ उहा भन्नुहुन्छ आफ्नो क्षमता दक्षता अनुसार सेवा गरेर यहाँबाट विदा हुनु पर्दछ त्यसैले स्वार्थ पूरा गर्ने उद्देश्यले काम गर्न हुदैन ।

भगवनाले जनताको सेवाको लागि मानिसको जीवनका रुपमा यस धर्तीमा पठाएको छ । राम्रो काम गरे राम्रो फल मिल्छ र भविश्यमा इतिहासले सम्झन्छ उहा भन्नुहुन्छ । धेरै तपस्या र राम्रो कर्मको आधारमा मानिसको स्वरुप भएर आएकाले दानव जस्तो व्यवहार गर्न नहुने उहाँको भनाइ छ ।
आफूले मरेर जाँदा धनसम्पत्ति केही लान सक्दिन त्यसैले दिनदुखी, सामाजिक संघसस्थालाई सम्झना स्वरुप दान गरेकी हुँ उहा भन्नुहुन्छ । साना ठुला धेरै रकम दान गरियो उहाले भन्नुभयो दान कती गरे भनेर म हिसाब राख्दिन तर मेरो छोराले टिपोट गरेको छु भनेको छ । तनहँुको बन्दीपुरमा जन्मिएर चितवन आउनु भएको उहाको बसोबास नारायणगढमा रहेको छ । नारायणगढको पुलचोकदेखि सहिदचोकसम्मका विभिन्न स्थान, पुतलीबजार, वसेनी क्षेत्रपुर लगायतका ठाउँमा उहाँको जग्गा जमिन रहेको छ । ती जमिनहरु सामाजिक क्षेत्रमा लागेका सस्थालाई विभिन्न समयमा दान गर्नु भएको छ ।

समाज र मानव जीवनको सेवामा लाग्नु पर्ने उहाँको मुख्य उद्देश्य रहेको छ । सामाजिक सेवामा लाग्ने प्रेरणा उहाँलाई नेपाली काँग्रेसका नेता वीपी कोइरालाले दिनु भएको हो । उहाँकै प्रेरणाको कारण राजनीतिक क्षेत्रमा लाग्नु भएको हो ।

राजनीतिक पदीय उपलब्धी
पूर्व प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, नेपाली काँग्रेस महासमिति सदस्य विभिन्न समयमा, व्यवस्थापिका संसद सदस्य, पूर्व अध्यक्ष महिला संसद समुह, संविधानसभा निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार बन्नस भएको छ श्रेष्ठ ।

राजनीतिमा प्रवेश
वि.सं.२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसमा प्रवेश गर्नु भयो । २००८ सालमा तनहुको वन्दीपुरमा खानेपानीको समस्या समाधानको लागि नेतृत्व गर्नु भएको थियो । २०१२ मा प्रजातान्त्रिक ग्रामिण महिला मण्डल सस्था खोली सचिवको जिम्मेवारी लिनु भयो । २०१३ सालमा नेपाली काँग्रेसको जिल्ला सचिव हुनु भयो ।
२०१४ सालमा भद्र अवज्ञा गरी आन्दोलन गरी सक्रिय भूमिका निर्वाह गर्दा वन्दीपुरमा जेल पर्नु भयो । २०१८ देखि २०२० सालसम्म ऋषिकेशमा भूमिगत रही पाटीको काममा सक्रिय भएर लाग्नु भयो । २०३६ सालमा वहुदल स्थापनाको लागि जनमत संग्रहको लागि सहभागी हुनु भयो । चितवन जिल्ला महिला संघको अध्यक्ष रही काम गरेको उहाँसंग अनुभव छ । २०४६ सालको जनआन्दोलनमा सहभागी भएर लाग्नु भयो ।

२०४८ सालमा गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि उहाले त्यहाँको विकासमा आफ्नो योगदान दिनु भयो । २०५२ सालमा नेपाली काँग्रेस केन्द्रीय संगठन विभाग सदस्यमा मनोनित हुनु भयो । २०५८ असार १३ गते राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएर अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव उहाँमा छ ।
जनआन्दोलन २०६२÷६३ पछि व्यवस्थापिका संसद सदस्य हुनु भयो । २०६२ मा जापानबाट शान्तिदुतको सम्मान प्राप्त गर्नु भयो । २०६४ चैत्र २६ गते भएको संविधान सभा निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार वन्नु भयो तर यसमा विजयी हासिल गर्न सक्नु भएन ।
दान
नेपाली काँग्रेस पार्टी कार्यालय रहेको नारायणगढको वहुमुल्य जग्गा दान गर्नु भयो । काठमाण्डौमा रहेको पार्टीको केन्द्रीय कार्यालय भएको जग्गा दान गर्नु भयो । देवघाट वडा नं. २ मा रहेको तीन तले घर वि.सं. २०५४ मा ओमशान्ति मैयादेवी ट्रष्ट सञ्चालनमा छ यो पनि दान गर्नु भयो ।
बालकुमारी कन्या स्कुललाई १० कठ्ठा दान गर्नु भयो । नेपालगञ्जको शिव पार्वती मन्दिर निर्माणमा ५ लाख सहयोग गर्नु भयो । बालकुमारी क्याम्पस बनाउन एकलाख ५० हजार सहयोग गर्नु भयो । सुष्मा मेमोरियल ट्रष्टलाई दुइलाख सहयोग गर्नु भयो । भरतपुर नगरपालिकाको वडा नं. ३ को कार्यालय निर्माणको लागि जग्गा खरिद गरिदिएनु भयो । सिद्धार्थ स्कुल वनस्थलीमा अक्षय कोषको लागि एकलाख प्रदान गर्नु भयो । मौलाकालिका मन्दिरको सिडी रेलिङ निर्माणमा एकलख ८१ हजार दिनु भयो ।
वन्दीपुर अस्पतालको भवन निर्माणमा दुइलाख ५० हजार प्रदान गर्नु भयो । नेपाली लोक सस्कृति संरक्षण केन्द्र काठमाण्डौलाई अक्षयकोषमा एक लाख २५ हजार दान गर्नु भयो । ओमशान्ति नारायणगढको भवन निर्माणको लागि एक लाख ५ हजार दिनु भयो । अपाङ संघ चितवनलाई एक लाख, भैरहवाको पार्टी कार्यालय भवन निर्माणमा एक लाख सहयोग गर्नु भयो । क्षेत्रपाटीमा निःशुल्क चिकित्सालयका लागि एक लाख दिनु भयो । राप्रावि माडी गर्दीको लागि एक लाख प्रदान गर्नु भयो ।
वन्दीपुर विकास समितिको भवन निर्माणमा एक लाख प्रदान गर्नु भयो । भक्त थानेश्वर धार्मिक मन्दिर निर्माणको लागि एक करोडको जग्गा दान दिनु भयो । देवघाटको शेषनारायण मन्दिर निर्माण गर्न २० लाखको जग्गा दान गनू भयो । युनिभर्सल पिस फेडेरेशनको कार्यालय भवन निर्माण गर्न भरतपुर ११ को १० कठ्ठा दान दिनु भयो । भरतपुर ११ मा नेपाल प्रेस युनियन चितवनलाई जग्गा दान गर्नु भयो । योसंगै विभिन्न दर्जनौ संघ सस्थालाई हजार, लाख, करोडको जग्गा र नगद दान गर्नु भएको छ ।

व्यक्तिहरुलाई भूमि दान
ऋषिराम गौतम भरतपुर भहानगरपालिका वडा नं. ४ कोे ४ करोड रुपैयाँ भएको जग्गा दान गर्नु भयो । भरतपुर ४ का हरिनारायण सापकोटालाई ४ करोडको जग्गा दान गर्नु भयो ।
भरतपुर ४ का शिश्वार बाजे पुरोहितलाई ८० लाखको जग्गा दान दिनु भयो । षडानन्द लामिछाने पुरोहितलाई भरतपुर ४ को एक करोडको जग्गा दान दिनु भयो । शुल श्रेष्ठ वुटवललाई एक करोडको जग्गा दान गर्नु भयो । सरला पियालाई सहिद चोकको एक करोडको जग्गा दान गर्नु भयो । दुर्गा श्रेष्ठ भरतपुर ४ मा एक करोड ६० लाखको जग्गा दान गर्नु भयो ।
सुस्मिता श्रेष्ठ एक करोड ६० लाख दिनु भयो । टिना श्रेष्ठ एक करोड ६० लाखको जग्गा दान गर्नु भयो । टंकनाथ पौडेललाई मैयादेवी मार्गको एक करोड ६० लाखको जग्गा दान दिनु भयो । स्वामी कैलाशनन्द सरस्वती महाराजलाई देवघाटमा ५ कठ्ठा जग्गा दान गर्नू भयो । थानेश्वर महाप्रभुलाई मन्दिर निर्माण गर्न भरतपुर ४ मैयादेवी मार्गको एक करोडको जग्गा दान गर्नु भयो । मन्दिरा श्रेष्ठलाई पुतली बजारमा रहेको जग्गा दान गर्नु भयो ।
पतञ्जली योग समितिलाई भवन निर्माण गर्न एक करोड २० लाखको जग्गा दान गर्नु भयो । भरतपुर ३ नारायणगढमा रहेको घरजग्गा ट्रष्टको नाममा दान गर्नु भयो । महेश सन्यास आश्रमलाई दुइ रोपनी जग्गा दान दिनु भयो । यी लगायत दर्जन भन्दा धेरै संघ सस्था तथा व्यक्तिलाई लाख करोड रुपैयाँ बरावरको जग्गा र रकम दान गर्नु भएको छ ।  योसंगै उहाले अन्य दर्जनौ स्थानमा दान गर्नु भएको छ ।

(धर्म पुत्र टंकनाथ पौडेलसंगको कुराकानीमा आधारित संक्षिप्त अंश)

 

शेयर गरौ

ताजा अपडेट