काठमाडौं, १६ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजङ्ग शाहीबीच सम्बन्ध बिच्छेदका लागि लिखित सहमति भएको छ ।
चित्रजङ्गले सम्बन्धबिच्छेद गर्ने लिखित सहमति जानकारी आफ्नो फेसबुकमा शेयर गरेका छन् । योसँगै कानुनी प्रक्रिया पनि अघि बढेको जनाइएको छ । ‘प्रिय जनहरू, थुप्रै उतार चढावका बीच हाम्रा साथसथ २८ वर्ष दिनहरू बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् ।

तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौ । कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजङ्ग शाहीले फेसबुकमा शेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ । उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका छन् । हिजो मात्र महराबाट बलात्कारको शिकार भएकी भनिएकी रोशनी शाहीले महराले आफूमाथि केहि नगरेको र आफूहरुले महरालाई बाबु सरह हेर्ने गरेको भन्दै बोली फेरेकी थिइन् ।
यस घटनाले कृष्णबहादुर महराको आजसम्मको राजनीतिक छवीलाई मात्र धुमिल बनाएको छैन । शाही परिवारको यताका लामो घर गृहस्थीलाई समेत संकटमा पुर्याएको छ ।


