काठमाडौं, १६ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने निश्चित भइनसकेको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी असोजभित्रै नेपाल भ्रमणमा आउने र यसका लागि सरकारले तयारी
गरिरहेको समाचार धमाधम आइरहेका बेला मन्त्री ज्ञवालीले भने सम्भावना रहे पनि मिति तय भइनसकेको जानकारी गराएका छन् ।
‘चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना छ’, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर बुधबार स्वदेश फर्किएका ज्ञवालीले भने, ‘भ्रमण गर्ने सम्भावना रहे पनि मिति निर्धारण भइसकेको छैन ।’
यसैबीच, मन्त्री ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सार्कलाई गति दिन सबै प्रतिबद्ध रहेको जानकारी दिएका छन् । ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।
बैठकका क्रममा ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए । विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री समेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।


