चिनियाँ राष्ट्रपति नेपाल आउँदा केरूङ रसुवागढी रेल सम्झौता हुने

काठमाडौं, १६ असोज :

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले  दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज काठमाडौँ फर्कँदै गर्दा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिङपिङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका हुन् ।

मन्त्रि ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको विकास सहायताले नेपालको बिकाशमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए। भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि बताए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणका क्रममा दुई देशबीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग-रसुवा काठमाडौँ रेलमार्ग हुने बताए। यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने उनले बताए। यस्तै मन्त्री ज्ञवालीले न्युयोर्कमा भएको सार्क परराष्ट्रमन्त्रिस्तरीय बैठक पनि सकारात्मक भएको बताएका छन्। सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक बोलाएको थियो ।

बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कश्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए । तर परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताले उनीहरूबीच नयाँ संवादको थालनी गरेको बताए।

मन्त्रि ज्ञवालीले नेपालको संक्रमणकालिन न्यायबारे महासभाका विषयगत समितिमा चासो ब्यक्त भएको बताएका छन्। मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए। नेपालले न्याय ब्यवस्थापनमा बिस्तृत शान्ति सम्झौता,नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता,नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए।

पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्रसंघका विभिन्न संस्थाले चासो ब्यक्त गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको बताएका छन् ।

 

 

शेयर गरौ

ताजा अपडेट