सभामुख कृष्णबहादुर महरामाथि बलात्कार सम्बन्धि गम्भीर आरोप : सचिवालय द्वारा खण्डन

काठमाडौं, १४ असोज ।  सभामुख कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी प्रयासको आरोपलाई उनको सचिवालयले खण्डन गरेको छ।

सभामुख महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन्। उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरेकी छिन् ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।’

कर्मचारी समायोजनमा असन्तुष्ट रहेकी ति कर्मचारीले सभामुखमाथि गम्भीर आरोप लगाएको विज्ञप्तिमा दाबी गर्दै यो आरोपले सभामुख आश्चर्यचकित भएको उल्लेख छ।

‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए’, विज्ञप्तिमा उल्लेख छ, ‘सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ।’

 

शेयर गरौ

ताजा अपडेट