काठमाण्डौ ११ असोज । नेपालले नगण्य उत्सर्जनका बाबजुद पनि गरिब देशहरुले जलवायु परिवर्तनको असर भोग्नु परेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको बताउनुभयो ।
हिमनदीहरु दिनानुदिन पग्लिँदै गएकाले यो निकै खतरापूर्ण भएको भन्दै तत्काल आवश्यक कदम चाल्न आवश्यक भएको मन्त्री ज्ञवालीले बताउनुभयो । जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउने गरेको बताउँदै यो वर्ष मात्रै बाढी पहिरो र आँधीमा परि कैयौँ नेपालीले ज्यान गुमाएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, ‘सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको छ ।’ मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै आउँदो वर्षको अप्रिलमा ‘सगरमाथा संवाद’ आयोजना हुने बताउनुभयो । साथै जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले विभिन्न तहमा प्रयास गर्नेमा नेपाल विश्वस्त रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
मन्त्री ज्ञवालीले संयुक्त राष्ट संघ सुरक्षा परिषदको संरचना प्रतिनिधिमूलक बनाउनु पर्ने बताउनुभयो । त्यस्तै सुरक्षा परिषदको कामकारबाही पारदर्शी हुनुपर्ने बताउँदै उहाँले लोकतान्त्रि चरित्र र जवाफदेही प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले नरसंहार गर्ने खालका हतियारको पूर्ण निशस्त्रीकरणमा सधैँ जोड दिएको बताउँदै मन्त्री ज्ञवालीले ‘आईएनएफ सम्झौता’ भंग भएकोमा नेपाले चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी वैश्विक सुरक्षा तथा स्थिरताको सुनिश्चिताका लागि बाध्यकारी बहुपक्षीय निशस्त्रीकरण कानुनको पक्षमा उभिएका छौँ ।’
साथै मन्त्री ज्ञवालीले नेपाल कुनै पनि समस्याको समाधान बाह्य हस्तक्षेपबिना नै शान्तिपूर्ण वार्ताबाट होस् भन्ने चाहेको बताउनुभयो ।
उहाँले प्यालेस्टाइन र इजरायलको विवादका बारेमा पनि चर्चा गर्नुभयो । ज्ञवालीले भन्नुभयो, ‘हामीले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानका लागि ‘टु स्टेट सोलुसन’(दुई राज्य) नीतिलाई समर्थन गर्छौँ । जुन संयुक्त राष्ट्र संघको प्रस्तावको आधारमा सुरक्षित र अन्तर्राष्ट्रिय सीमाका साथ शान्ति सुरक्षाका लागि काँधमा काँधमा मिलाएर बसुन् ।’
साथै मन्त्री ज्ञवालीले नेपालले अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गरेको बताउँदै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हेर्न चाहेको बताउनुभयो ।


