नेपाल प्रहरीमा अख्तियारले थाल्यो अनुसन्धान : आइजीपी खनाल तनावमा

काठमाडौं, ११ असोज ।  लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेपछि नेपाल प्रहरीमा हलचल पैदा भएको छ । अख्तियारले प्रहरीको मुल नेतृत्वमाथि नै मुद्दाको तयारी गरेपछि प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नैतिक संकटमा परेका हुन् ।

अख्तियारको विशेष टोलीले २० भदौ २०७६ नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात बरामत गरेको छ । आईजीपीको सेवावधि पूरा हुन करीब–करीब पाँच महिना लाग्दा आईजीपी खनाल अख्तियारको अनुसन्धानमा परेका हुन् ।

स्रोतका अनुसार खरिद घोटालालाई लिएर २०७६ साउन २१ मा ७६र७७ सी–२५८० र साउन २६ मा सी–३३८१ दर्ता नम्बरमा दुई छुट्टाछुट्टै उजुरी परेका थिए । आर्थिक वर्ष ०७४र७५ र ०७५र७६ का लागि भएका पोसाक तथा सवारी खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

प्रारम्भिक छानबिनका क्रममा प्रहरीले आर्थिक वर्ष ०७४र७५ मा गुणस्तर परीक्षण फेल भएका १५ हजार थान बुट अर्कै टेन्डरमा राखेर स्वीकार गरेको पाइएको स्रोतको दाबी छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्ति (भीभीआईपीरभीआईपी) का लागि किनिएका ३० थान एस्कर्टिङ मोटरसाइकलमा पनि घोटाला भएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ  ।

अब के हुन्छ ?
स्रोतका अनुसार पहिलो चरणमा आईजीपी खनाललाई अख्तियारले राजिनामा दिन लगाउने तयारी गरेको छ । यदि राजीनामा दिन इन्कार गरे अख्तियारले कागजातमाथि अनुसन्धान अघि बढाउने छ । अनुसन्धान मुद्दामा परिणत हुनासाथ बहालवाला आईजीपी खनाल अभियुक्त बन्ने छन् । कानूनतः अभियोग लागेको व्यक्ति नेपाल सरकारको कुनै पनि पदमा रहन योग्य ठहरिंदैन । त्यसो हुँदा खनाल नेपाल प्रहरीको आईजीपीबाट स्वतः निलम्बनमा पर्नेछन् ।

खनालले पदबाट राजीनामा दिए अख्तियारबाट जफत कागजात तामेलीमा रहने छ । खनालविरुद्ध कुनै पनि मुद्दा लाग्ने छैन ।  गृह स्रोतले भन्यो, ‘नेपाल प्रहरीमा केही नयाँ हुँदैछ । गृह त्यहि योजनामा लागेको छ । यसको केही संकेत सतहमा देखिएको पनि छ । परिणाम आउन केही समय लाग्ने छ ।’ पछिल्लो समयमा आइजीपी खनाललाई आफै मार्गप्रशस्त गरेर छोड्नका लागि दबाब सृजना गरिएको छ । गृह स्रोत भन्छ, ‘यति भएपछि बुझ्न पर्ने हो ।’ सरकारले त्यसका लागि केही कदमहरु उठाएको छ, जसले गर्दा आइजीपी खनाल नैतिक अप्ठ्यारोमा मात्रै होइन उनले अपमान सहनु परेको छ ।

के हुन् ती अपमानका श्रृंखला कदम ?
कदम नम्बर एक
अमेरिकाको शिकागोमा २६ देखि २९ अक्टोबरसम्म विश्वका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । नेपाल प्रहरीको तर्फबाट संगठन प्रमुखका हैसियतले आईजीपी खनाल जाने क्रममा थिए । तर, सरकारले उनको भ्रमण नै स्वीकृत गरी दिएन । त्यसो हुँदा विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिने आईजीपी खनालको सपना सकिएको छ ।

कदम नम्बर २
नेपाल प्रहरीको संगठन प्रमुख आईजीपी हुन् । आईजीपीसँगको विमर्श बिना संगठनभित्र हावा पनि घुस्न सक्दैन । तर, गत मंगलवारको मन्त्रिपरिषद् बैठकले संगठनका तीन एआईजी सरुवा गर्ने निर्णय गर्‍यो । जसको सुइँको समेत आईजीपी खनालले पाएनन् ।

सोही निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयस्थित मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुई वटा विभागको नेतृत्व दिइएको छ । मुख्यालयका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र अर्का एआइजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ ।

कदम नम्बर तीन
नेपाल प्रहरीमा विभूषणले ठूलो महत्व राख्छ । यस्ता विभूषणमा संगठन प्रमुख तथा उनले सिफारिस गरेका व्यक्ति हतपत छुटाइँदैन । तर, यस पटकको विभूषणमा आइजीपी खनाल नै छुटे । जबकी प्रहरी प्रधान कार्यालयले उनको नाम सिफारिस गरेको थियो । विभूषणका लागि उनले सिफारिस गरेका प्रहरी अधिकृतको पनि नाम काटिएको छ ।

खनालपछि को आईजीपी ?
नेपाल प्रहरीमा खनालले ०४६ को माघबाट सेवा शुरु गरेका हुन् । उनीसँगै सेवा शुरु गर्ने रमेश खरेल, पुष्कर कार्की, धिरु बस्न्यात, ठूले राईलगायतका प्रहरी अधिकृत हुन् । जसमध्ये खरेलले आईजीपी नियुक्तिमा असन्तुष्टि जाहेर गर्दै दुई बर्षअघि नै सेवाबाट राजीनामा दिई सकेका छन् । बाँकी रहेकामध्ये खनाल आईजीपी, कार्की, बस्न्यात र राई एर्आइजी छन् ।

खनाल आईजीपीबाट हट्दा उक्त पदमा स्वभाविक दावेदार कार्की हुनेछन् । किनकी उनी बहालवाला तीन एआईजीमध्ये वरियता क्रमको पहिलो नम्बरमा छन् । त्यसो हुँदा नेपाल प्रहरीमा अबको आईजीपी कार्की बन्ने छन् । राजनीनामा नदिएको भए नेपाल प्रहरीको आईजीपी खरेल हुने थिए । किनकी बरियता क्रममा उनी कार्की भन्दा अघि थिए ।

खनाल आएपपछि प्रहरीको असफलताको श्रृंखला
निर्मला प्रकरण
९ साउन ०७५ मा कञ्चनपुरको उल्टाखाममा १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनाको संवेदनशिलतामाथि नजरअन्दाज गर्ने काम पहिलो चरणमा प्रहरीबाटै भयो । गिजोलिँदै जाँदा घटनाले राजनीतिक रङ लियो ।  तीन जनाको अनाहकमा ज्यान गयो ।

स्थानीय प्रहरीको असंवेदनशिलताबाट शुरु भएको कञ्चनपुर घटना सिंहदरबारदेखि बलुवाटारसम्म जोडिन आईपुग्यो । घटना अनुसन्धानमा त्रुटि भएको भन्दै केही प्रहरी कर्मचारीमाथि कार्बाही पनि भए । तर, घटनाको दोषी अझै पत्ता लगाउन सकिएको छैन । विगतका दिनमा दवङ्ग प्रहरी अधिकृतको छवि बनाएका आईजीपी खनालको डाउनफल त्यहींबाट शुरु भयो ।

निशान अपहरण
२१ साउन ०७३ मै काठमाडौंको पेप्सीकोलाबाट ११ बर्षीय निशान खड्का अपहरणमा परे । घटनाको संवेदनशिलातालाई प्रहरीले यस पटक पनि बुझेन । बरु फुली र जस लिने प्रतिष्पर्धामा अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख भिडे । दुर्भाग्यबस् खड्कको अपहरणकारीले हत्या गरे ।

उत्तेजित भएको प्रहरीले अपरहणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङको इन्काउन्टरको नाममा हत्या गर्‍यो । जबकी घटनाको गहिराइसम्म पुग्न प्रहरीेले नियन्त्रणमा लिइएका दुई अभियुक्तविरुद्ध थप अनुसन्धान गर्नु पर्ने थियो । दुई कार्यालय प्रमुखबीच जस लिने प्रतिष्पर्धाबाट शुरु भएको घटना अन्ततः सरकारमा गएर जोडियो । आईजीपी खनालको डाउन फल हुनुमा यो अर्को कारण थियो ।

कुमार पौडेल हत्या प्रकरण
गत २५ असारमा सलार्हीको जङ्गलमा विप्लव माओवादीका सलार्ही इञ्चार्ज कुमार पौडेलको हत्या भयो । प्रहरीले इन्काउण्टरमा मारिएको हल्ला चलायो । तर, छानविनपछि इन्काउण्टर नभई उनलाई नियन्त्रणमा लिएपछि मारिएको खुल्यो । घटनाले राष्ट्रिय रुप लियो । संसदमा बिषय उठ्यो । छानविनको माग भयो । यो घटना पनि अन्ततः सरकारको कार्यशैलीमा गएर जोडियो । आईजीपी खनालको डाउन फलको यो अर्को घटना थियो ।

सूचनामा सुस्त प्रहरी
विप्लव माओवादीले भैंसेपाटीको एनसेल टावर अगाडि बम फड्कायो । अनाहकमा केहीको ज्यान गयो । त्यसपछि पनि उपत्यकामा श्रृंखलावद्ध विष्फोट भए । विष्फोट गराउन ल्याइएको बममा टाइमर मिलाउन नजानेर घटनामा विप्लवकै कार्याकर्ताको ज्यान गयो । उपत्यकाभित्र यति ठूलो परिमाणमा विष्फोटक पदार्थ भित्रिँदा प्रहरीले सुँइको समेत पाएन । आईजीपी खनालको नेतृत्व यसमा पनि चुक्यो ।

शेयर गरौ

ताजा अपडेट