बैतडी, ११ असोज । बैतडीमा आज (शनिबार) विहानै बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिएका छन् ।
महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।
गम्भीर घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएको प्रहरी नायब निरीक्षक खडायतले बताए । गम्भीर घाइते सातै जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
सडकको खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटर तल खसेको छ । बसका चालक फरार छन् ।


