चितवन १० असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले क्यान्सरको उपचार
नेपालमानै सम्भव भएको बताउनु भएको छ । विपि कोइराला क्यान्सर अस्पताल भरतपुरको २० औ वार्षिकोत्सब समारोह तथा क्यान्सर सर्तकता दिवसको अबसरमा बोल्दै उपचारको लागि बाहिर जानू पर्ने बध्यता नभएको बताउनु भयो । उपचार गर्न सक्ने जनशक्ति यहि भएको भन्दै उनिहरुलाइ परिचालन गर्ने हो भने उपचारको लागि बिदेश जाने दुख हट्ने बताउनु भयो।
नेपालमा क्यान्सर रोगको न्यूनीकरण र यसको उपचारका लागि नेपाल सरकारले आफ्नो प्रयासलाई प्रभावकारी बनाउँदै गएको बताउनुभयो क्यान्सर अस्पतालको सेवा प्रभावकारी बन्दै आएको बताउँदै उहाँले यस अस्पताललाई नेपालकै नमुना योग्य क्यान्सर अनुसन्धान केन्द्र बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने भनेपनि अझै नागरिकले औषधि उपचार नपाएको तितो यथार्थ पनि उहाँले दर्शाउनुभयो । नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताउँदै उपराष्टपति पुनले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो । स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने उहाँको धारणा छ ।
अधिकांश नेपाली जनचेतनाको अभावमा विभिन्न रोगबाट ग्रसित भएको भन्दै उहाँले क्यान्सर लगायतका रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । यस्तै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले चितवनलाई मेडिकल ऐकेडेमीका रुपमा विस्तार गर्ने बताउनुभएको छ । उहाँले क्यान्सर र भरतपुर अस्पतालमा शैक्षिक कक्षाहरु सञ्चालन गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयमा न्यून बजेट भएका कारण काम जिल्लाका अस्पतालहरुको विस्तार गर्न समस्या भएको बताउनुभयो ।
कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापती कृष्ण भक्त पोखरेल, राजनीतिदलका प्रतिनिधि , चिकित्सक लगायतले मन्तब्य राख्नु भएको थियो ।


