एसिया प्यासिफिकको चौंथो सम्मेलन इन्डोनेसियामा सम्पन्न, पाँचौ भरतपुर महानगरमा हुने

चितवन ।

एपिक्याट (एसिया प्यासिफिक सिटिज एलाइन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज प्रिभेन्सन) को चौंथो सम्मेलन इन्डोनेसियाको बोगोर सहरमा सम्पन्न भएको छ । यसको पाँचौं सम्मेलन अर्को वर्ष नेपालको चितवन भरतपुर महानगरमा हुने भएको छ ।

इन्डोनेसियामा भएको चौंथो सम्मेलनमा भरतपुर महानगरपालिका पनि सहभागी भएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र भरतपुर महानगरको योजना, उद्देश्य र रणनीतिको विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

सम्मेलनमा प्रमुख दाहालले मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुरलाई स्वच्छ, स्वस्थ र स्मार्ट सहरको रुपमा परिकल्पना गरिएको बताउनुभयो । सम्मेलनमा उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्यको मेरुदण्डको रुपमा रहेका स्वास्थ्य, शिक्षा, वातावरणलगायतका क्षेत्रहरुलाई भरतपुर महानगरले उच्च प्राथमिकता दिएको छ ।’

सम्मेलनमा उहाँले भरतपुर महानगरले नसर्ने रोगको रोकथामका लागि उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धुमपान एवम् सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र, पूर्ण खोपयुक्त बालबालिका सुनिश्चित महानगर आमा, एक वडा एक खेलमैदान, मेरो फोहोर मेरो जिम्मेवारी अभियान, फोहोरमैला व्यवस्थापन गुरुयोजनालगायतका काम सम्पन्नको चरणमा छन् ।’ उहाँले महानगरले स्मोक फ्रि जोन बनाउने कार्य पनि अघि बढेको बताउनुभयो ।

२०२० का योजना
सम्मेलनमा भरतपुर महानगर प्रमुख रेनु दाहालले सन् २०२० मा गरिने योजनाहरु पनि बताउनुभएको थियो । उहाँले २०२० मा क्रमबद्ध रुपमा सहरलाई धुँवारहित बनाउने र स्थानीय स्वास्थ्य एजेण्डामा नसर्ने रोगलाई रोक्ने विषयलाई समावेश गर्ने बताउनुभयो ।

यस्तो छ रणनीति
प्रमुख दाहालले सुर्तीजन्य पदार्थ र धुमपान निषेधित सहर तोकी कडा कानुनी कारबाहीलाई अघि बढाउने, सूर्तीजन्य पदार्थरहित नयाँ पुस्ता निर्माणका लागि विद्यार्थी, क्लब सदस्यहरु, महिला तथा आमा समूह, टोल विकास संस्थाहरु र सञ्चारकर्मीहरु परिचालन गरिने, वडाको अगुवाईमा समुदाय तहसम्म सञ्चालन हुने अन्य अभियानजस्तै यसलाई पनि बहुसरोकारवालाको सञ्जालमा प्रभावकारीरुपमा प्रवेश गराइ सुर्तीजन्य पदार्थको सेवन रोक्ने तथा स्मोक फ्रि सिटी बनाउने कार्य अघि बढाइनेलगायतका रणनीतिहरु सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो ।

आगामी कार्यदिशा
भरतपुर महानगर प्रमुख दाहालले भरतपुर महानगरलाई धुमपान एवम् सुर्तीजन्य पदार्थ निषेधित महानगर बनाउने कार्यदिशा रहेको बताउनुभयो । उहाँले भरतपुर महानगरलाई पूर्ण संस्थागत सुत्केरी, एक विद्यालय एक नर्स, मेडिकल सिटी, एक घर दुई फलफूल बिरुवा, सफा भरतपुर, हरित भरतपुर अभियान, स्मार्ट सिटीको रुपमा विकास गरिने बताउनुभयो ।

जथाभावी फोहोर फाल्नेलाई जरिबाना गर्ने तथा फोहोर गरेको सुचित गर्नेलाई प्रोत्साहित गर्ने नीति भरतपुर महानगरले लिएको उहाँको भनाइ थियो ।

नेपालको केन्द्रमा रहेको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक रुपले अग्रणी नगर भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, सिमसार क्षेत्रको रुपमा संरक्षित बीसहजारी ताललगायतका थुप्रै पर्यटकीय विविधता रहेका छन् । ४३३ वर्ग किमि क्षेत्रफलमा फैलिएको महानगरमा अनुमानित ४ लाख जनसंख्या रहेको छ ।

ताजा अपडेट