चितवन समाचार डटकम,
९ असोज । स्थानीय तहमा निर्वाचित हुनु भएका चेपाङ समुदायका वडा अध्यक्षहरुले आयआर्जन र सडकलाई प्राथमिकता दिएर काम गरेका छन् ।
चितवन, मकवानपुर र धादिङ जिल्लाको स्थानीय पालिकाको वडा अध्यक्षमा निर्वाचन भएका चेपाङ जनप्रतिनिधहरुले आफ्नो क्षेत्रमा पहिलो प्राथमिकता नै स्थानीयको आर्थिक अवस्थालाई हेरेका हुन् । नेपाल चेपाङ संघको जिल्ला अधिवेशनमा सहभागी हुन आउनु भएका जनप्रतिनिधिले आफ्नो समुदायको जीवन स्तर माथि उठ्न नसक्नु नै आर्थिक अवस्था भएको भन्दै त्यस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नंं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले भन्नु भयो ‘हाम्रो समुदाय पछाडि पर्नुको मुल कारण शिक्षा हो, त्यसपछि आर्थिक अवस्था यो समस्या समाधान गर्न लागेको छु ।’ हरेक घरमा पुगेर आफ्ना बालबालिकालाई पढाउनको लागि सचेत गराउने कार्यक्रम सञ्चालन गरेको छु । सानो उमेरमा विवाह गर्ने अर्को समस्या छ, त्यसलाई निरुत्साहित गर्न आमा समुहमा छिटो विवाहको वेफाइदाको बारेमा छलफल चलाएको छु उहाले भन्नु भयो ।
हामी आर्थिक अवस्था कमजोर भएको कारण गिठ्ठा भ्याकुर खाएर ६ महिना चलाउनु पर्दछ त्यसैले व्यवसायिक कृषि खेतीमा लगानी गर्न लगाएको छु उहाले भन्नु भयो । वेमौसमी तरकारी खेती गर्ने त्यसमा वडाले सहयोग गर्दछ, पशु पालन, बाख्रा पालन गर्नेलाई अनुदानको व्यवस्था गराएको छु ।
धादिङको गजुरी गाउपालिका वडा नंं ४ का अध्यक्ष सुरेन्द्र चेपाङले भन्नु भयो ‘मेरो पहिलो योजना बाटो हो, विकासको प्राथमिकता नै बाटो भएकाले वडाको ९० प्रतिशत स्थानमा सडक बनाएको छु ।’ वडा अध्यक्ष भइसकेपछि ३० किलोमिटर सडक निर्माण भइसकेको उहाले बताउनु भयो । खाद्य सुरक्षा कार्यक्रम अन्तरगत स्थान अनुसारको कृषि खेती गर्नको लागि अनुदानको व्यवस्था गरेका छौ । कुन स्थानमा कृषिका कुन बाली हुन्छ त्यही लगाउने व्यवस्था गरेको छु उहाले भन्नु भयो ।
पृथ्वी राजमार्गबाट १३ किलोमिटर टाढा पर्ने आफ्नो वडाका स्थानीयले वार्षिक ५० लाख रुपैयाँको तरकारी बिक्री गर्दै आएको उहाले बताउनु भयो । गाँजा खेती गर्नेहरु अहिले व्यवसायिक तरकारी खेती गर्न थालेको सुरेन्द्रले बताउनु भयो । अहिले वडावासीले आलु, काउली, बन्दा उत्पादन गरेर बिक्री गर्दै आएका छन् । यहाँको बजार आदमघाट र काठमाण्डौ रहेको छ ।
चितवनको राप्ती नगरपालिका वडा नंं १२ का अर्जुन चेपाङले भन्नु भयो ‘पिछडीएका चेपाङ, तामाङ जातीको आर्थिक अवस्था सुधारको लागि व्यवसायिक तरकारी खेतीलाई प्राथमिकता दिएर काम गरेका छौ ।’ आफू नेतृत्वमा नहुदा काम गर्न समस्या थियो अहिले कार्यान्वयन गर्ने ठाउँमा आफै हुदा समस्या पहिचान गरेर काम गरेका छौ उहाले भन्नु भयो । वडाका चेपाङ समुदायलाई आर्यआर्जन गर्नको लागि सिपयुक्त तालिम दिएर आत्मनिर्भर गर्ने प्रयास गरेको उहाँको भनाइ छ । मौरीको घार वितरण, सिलाइकटाइ तालिम, प्लम्बिङ, कुक तालिम दिएर आत्मनिर्भर बनाएको उहाले जानकारी दिनु भयो ।
मकवानपुरको राक्सीराङ गाउपालिका वडा नंं ६ का अध्यक्ष सिंहलाल चेपाङले भन्नु भयो ‘चेपाङ जातिको सस्कृति विश्व सामु पु¥याएर पर्यटक धेरै भित्राउन सकेमा आथिक विकास हुने भन्दै योजना ल्याएका छौ ।’ आफ्नो योजना कार्यपालिकाको वैठकबाट पास हुन कठिन रहेको उहाँको भनाइ छ । चेपाङ विकासको लागि २०३५ सालमा छुट्टाएको १८ रोपनी जग्गा स्थानीय तहको मातहतमा ल्याएपछि त्यसलाई उपयोग गर्न आफ्नो समुदायले नपाएको बताउनु भयो । समुदायको लागि प्रयोग गर्न आएको जग्गामा चेपाङको सस्कृति झल्कने संग्राहलय राख्न सके पर्यटक भित्राएर आम्दानी गर्न सकिने उहाँको भनाइ छ । तर त्यो जग्गा गाउपालिकाले आफ्नो अनुकुलमा उपयोग गर्ने गरी चेपाङको अधिकारबाट बन्चित गराएको दुखेसो गर्नु भयो ।
इच्छाकामना गाउपालिका वडा नंं ६ का अध्यक्ष भुपेन्द्र चेपाङले ‘चेपाङ समुदायको विकासको लागि हरेक उपभोक्ता समितिमा अनिवार्य चेपाङ समुदायको प्रतिनिधि सम्लग्न गर्नु पर्ने व्यवस्था गरिएको छ ।’ भाषा सस्कृति रक्षाको लागि फिसिङ स्पोर्ट माछा मार्ने स्थानको निर्माण गरेको छ । उनीहरुले माछा पर्वका रुपमा लिने भएकाले यसको विकासबाट सस्कृतिको जगेर्नासंगै आय आर्जनमा सहयो पुग्ने विश्वस लिएको बताउनु भयो ।
निर्वाचित चेपाङ समुदायका जनप्रतिनिधिहरुले आफ्नो योजना कार्यपालिकाबाट पास हुन कठिन हुदा छिटो काम गर्न नकसेको बताउनु भएको छ । जनताले छिटो विकास खोजेका छन् हाम्रा योजनाहरु पालिका कार्यालयका ढिलासुस्तीको कारण काम गर्न कठिन भएको उहाँहरुको भनाइ छ । चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ लगायतको क्षेत्रमा वसोबास रहेको चेपाङ समुदायको जनसख्या एकलाख माथि पुगेको पूर्व संविधान सभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिनु भयो ।


