सख्यामा पार्टी बलियो मोर्चाहरुमा हार्दै नेकपा

काठमाडौं ८ असोज । अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा दुई तिहाईको सरकार छ । संघीय सरकारदेखि, प्रदेश र स्थानीय तहसम्म उसको सुबिधाजनक बहुमत छ । पार्टीको हिसाबले नेकपा एक नम्बर छ । तर, पछिल्लो समयमा भएका बिभिन्न मोर्चाहरुको चुनावमा भने लगतार पराजित भइरहेको छ ।

उद्योग वाणिज्य संघ दमकदेखि, निर्माण व्यवसायी संघ चितवन, मध्यवर्ती व्यवस्थापन समिति चितवन, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसम्म आइपुग्दा आधा दर्जन बढी मोर्चाहरुमा सत्तारुढ गठबन्धन पराजित भएको छ । मंगलबार (७ असोज २०७६) मा सम्पन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलले जित हात पारेको छ । नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक समूहले नेकपा नेतृत्वको सत्तारुढ गठबन्धनलाई ‘क्लिनस्विप’ गरेको हो ।

मंगलबार २७ औं साधारणसभापछि सम्पन्न निर्वाचनमा कांग्रेस नेतृत्वको बिष्णुप्रसाद गैरेको प्यानल विजयी भएको हो । अध्यक्ष गैरे ३३० मत ल्याएर विजय हुँदा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत मात्रै प्राप्त गरे ।

नेकपा पराजयको पछिल्लो श्रृंखला
२२ भदौ २०७६ मा सम्पन्न उद्योग वाणिज्य संघ, दमकको निर्वाचनमा कांग्रेस नेतृत्वको समूहले नेकपा नेतृत्वको व्यवसायीलाई पराजित गरेको थियो । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीको आफ्नै निर्वाचन क्षेत्रमा नेकपाको बलियो संगठन थियो । तर, जित भने कांग्रेस निकट समूहले निकाल्यो ।

अध्यक्षमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ विजयी बने । श्रेष्ठले ९१६ मत पाए भने पराजित खतिवडाले ४११ मात्रै । ४९५ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

चितवनको निर्माण व्यवसायी संघमा पनि नेकपा निकट व्यक्तिले हार व्यहोर्नु परेको छ । काँग्रेस निकट बाबुराम कडेलले संघको नेतृत्व लिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिको निर्वाचनमा नेकपाले हार व्यहोर्दै आएका छन् ।

२१ भदौ २०७६ मा भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपाको समूह पराजित भयो । यस अघिको निर्वाचन र संगठनलाई आधार मान्दा टानमा पनि नेकपाको सुबिधाजनक बहुमत थियो । तर, निर्वाचनमा त्यसो भएन ।

कांग्रेसका खुमबहादुर सुवेदी विजयी भए । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका थिए ।

२६ जेठ २०७६ मा भएको ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि नेकपाको गठबन्धन पराजित भएको थियो । कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वा्चित भएका थिए ।

निर्माण व्यवसायी संघ चितवनमा पनि नेकपाको समूह पराजित भएको थियो । चितवनमा कांग्रेस निकट ९५ जना थिए भने नेकपा निकट १८९ जना व्यवसायी । तर परिणाम चाहि कांग्रेस निकट व्यवसायी बाबुराम कँडेलको पक्षमा आएको थियो । उनी २०४ मत ल्याएर अध्यक्षमा विजयी भने नेकपा निकट छवि गौतमले जम्मा ६८ मत मात्र ल्याएका थिए । यस बाहेक यसबीचमा भएका बिभिन्न सामाजिक तथा व्यवसायिक मोर्चाहरुको निर्वाचनमा नेकपाको समूह लगतार पराजित भइरहेको छ ।

समस्या कहाँ छ ?
यो पराजयलाई कतिपयले सरकारप्रतिको असन्तुष्टि भनेका छन्, भने कतिपयले आन्तरिक समस्या अर्थात् अन्तरघात भनेका छन् । आन्तरिक समस्या भन्दा पछिल्लो समयमा सरकारका काम कारवाहीप्रति जनता असन्तुष्ट देखिन थालेका छन् । यो असन्तुष्टि यस्ता नतिजाहरुमा देखिन थालेको बिश्लेषण हुन थालेको छ ।

यही सन्दर्भमा २०७६ मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उप निर्वाचन स्थानीय, प्रदेश र संघीय संसदकै लागि हुनेछ । एक प्रतिनिधसभा, तीन प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहका रिक्त स्थानमा हुने चुनावी परिणामले सत्ता सन्तुलनमा परिवर्तन ल्याउने छैन। तर त्यसले दिने राजनीतिक सन्देश भने ठूलो हुनेछ । यस्ता मोर्चाहरुको चुनाव हेर्दा उपनिर्वाचनमा समेत नेकपालाई समस्या पर्ने देखिएको छ ।
सरकारको कार्यशैली, नेताहरु सदैको लागि नेता र सत्तामा हुन्छु भन्ने सोच, कार्यकर्ता जनताको भावना नबुझी काम गर्ने जस्ता कारणले गर्दा निर्वाचनहरुमा हार व्यहोर्नु परेको छ ।

शेयर गरौ

ताजा अपडेट