नेकपाको नेपाल–चीन कार्यगोष्ठि आजबाट शुरु

काठमाडौं, ६ असोज :

नेपाल–चीन मित्रता तथा साझेदारी विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश तथा स्कूल विभागबाट सोमबारदेखि दिइने दुई दिने प्रशिक्षण कार्यक्रममा नेपाली सहभागी छनौट अपारदर्शी रुपमा भएको आरोप पार्टी भित्रबाट लाग्न थालेको छ ।

४० जना चिनियाँ सहभागी र प्रशिक्षार्थी तथा २०० जना नेपाल कम्युनिष्ट पार्टीबाट सहभागी छानिएका छन्। नेकपाको स्कूल विभाग स्रोत अनुसार छनौट र समन्वयको मुख्य जिम्मेवारी स्कूल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र रक्षा मन्त्रालय स्थित उनको सचिवालयले गरेको छ ।

नेकपाका तर्फबाट छानिनेहरुमा केन्द्रीय सचिवालय, स्थायी समितिका सबै सदस्य र ४४५ सदस्यीय केन्द्रीय समितिका एक तिहाई सदस्यहरु रहेका छन् । स्रोतका अनुसार पोखरेलले पार्टी बाहिरबाट विज्ञका रुपमा लोकसेवा आयोगका पूर्व सदस्य तथा आफन्त गोविन्द कुशुम तथा उनका अर्का आफन्त उपेन्द्र कोइरालालाई छानेका छन् । सामान्यतया तय गरिएको क्राइटएरियामा नपर्ने आफ्ना क्षेत्रका केही पार्टी सदस्यहरुलाई समेत उनले सामेल गरेका छन् ।

सोमबार बेलुका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुने तथा चिनियाँ कम्युनिष्ट पार्टीको विदेशविभाग प्रमुख सोङ ताओको नेतृत्वमा हुने प्रशिक्षण कार्यक्रम मंगलबार बेलुकासम्म चल्नेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निश्चित जस्तै देखिएको नेपाल भ्रमण भन्दा एक महिना पहिला हुन लागेको संयुक्त प्रशिक्षण कार्यक्रममा चीनको नीति अन्तर्गत नेपालमा विकास मोडलका अनेक सम्भावनाबारे चर्चा हुने आयोजक स्रोतले बताएको छ ।

आगामी वर्षहरुमा खासगरी सी को भ्रमणपछि अपेक्षित चिनियाँ सहयोगमा वृद्धि र अमेरिका लगायत चीनका प्रतिस्पर्धी शक्तिहरुको प्रभावबाट नेपाललाई बाहिर राख्ने उद्देश्यका साथ यो कार्यगोष्ठिको अयाोजना हुन लागेको बताइएको छ । परराष्ट्र मन्त्रालयले यो कार्यगोष्ठि दुई मुलुकका पार्टीको समन्वयमा हुन लागेकाले आफ्नो संलग्नता नरहेको जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट