विश्वविद्यालय स्थापना बारे छलफल

 विराटनगर, १९ माघ : 

कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय विश्वविद्यालय सम्भाव्यता अध्ययन अन्तरक्रिया एवं सुझाव सङ्कलन सरोकारवालाले जल, जङ्गल र जमीनलाई आधार बनाएर विश्वविद्यालय स्थापनामा जोड दिएका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वदेश तथा विश्वबजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने सोचले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कार्य भइरहेकोे बताउँदै फूलको आयात निरुत्साहित गर्नका लागि सोसम्बन्धी एउटा विश्वविद्यालय इलाममा स्थापना गर्न सुझाव आएको जानकारी दिनुभयो ।

उहाँले कृषि, पर्यटन, जनविद्युत् जनशक्ति उत्पादन गरी प्रदेशलाई सम्पन्न बनाउनका लागि रोजगारमूलक शिक्षा प्रदान गर्ने प्राविधिक विश्वविद्यालय स्थापना गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

सहभागीले प्रदेशमा स्थापना हुने विश्वविद्यालय २१औँ शताब्दीको अवधारणाअनुसार जलविद्युत्, खानी, भूगर्भ इञ्जिनीयरिङ, कृषि, पर्यटन, सूचना प्रविधि, अनुसन्धानमूलक, विद्यार्थीलाई स्वयंसेवक परिचालन, परम्परागत पेशाको संरक्षण गर्ने र प्रयोगात्मक शिक्षाबाट अध्यापन हुनुपर्ने सुझाव दिनुभएको थियो ।

यसैगरी विश्वविद्यालयको कुलपति उच्चस्तरको विज्ञको समूहबाट नियुुक्त गरिनुपर्ने, राष्ट्रिय र सामुदायिक वन र जलविद्युत् आयोजनाबाट निश्चित रकम प्रदेश सरकारले उठाउनुपर्ने सुझाव दिनुभएको थियो ।

अध्ययन कार्यक्रमका संयोजक प्राडा महेशराज दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जयराम यादव, विद्यानन्द चौधरी, वसन्तीदेवी यादव, गुलेफु खातुन, बिन्दीया कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, निजी विद्यालयबाट दिपेश वाँस्तोला, विद्यार्थी सङ्गठनबाट भाष्कर खनाल, पेशागत शिक्षक सङ्गठनबाट लक्ष्मी श्रेठ, प्रदेश कर्मचारीबाट अशोक कालाखेती, प्राध्यापक उद्धव पोखरेल र सञ्चारकर्मी सुदीप कोइरालाले समूहबाट सुझाव दिनुभयो ।

यसअघि प्रदेशको १३ जिल्लामा सुझाव सङ्कलन गर्ने काम सम्पन्न भइसकेको बताइएको छ । (रासस)

शेयर गरौ

ताजा अपडेट