साँखु, १९ माघ :
काठमाडौँको बूढानिलकण्ठ नगरपालिकाबाट दुई युवाले मुद्रा चिनाउने अभियानमा लागेका छन् । ‘लेट्स मेक एन्टिक अलाइभ’ भन्ने नाराका साथ बूढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलका सरोज श्रेष्ठ र दिनेश श्रेष्ठ विभिन्न विद्यालयमा पुगेर देश तथा विदेशका ९० भन्दा बढी मुद्रा प्रर्दशनी अभियानमा जुटेका हुन् ।
मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक तथा शैक्षिक गुणस्तर कमजोर भएका सरकारी बिद्यालयको सुधारका लागि सहयोग गर्ने सरोज बताउनुहुन्छ ।सङ्कलित रकम विद्यालयका साथै सामाजिक कार्यमा समेत खर्च गर्ने सोच रहेको उहाँ बताउनुहुन्छ ।
चुनिखेलको नौलिन माध्यमिक विद्यालयबाट मुद्रा पहिचानको अभियान शुरु गरिएको दिनेशले बताउनुभयो । आफ्नो मामाबाट प्रभावित हुनुभएका सरोजले सङ्कलन गरिएका ५० देशका ९० भन्दा बढी मुद्रा प्रदर्शनीमा राख्नुभएको छ ।
मुद्रा अवलोकन गर्नाका साथै विभिन्न देशका मुद्रा स्वरूपबारे ती युवाले विद्यार्थीलाई जानकारी दिने गरेका छन् । सानै उमेरदेखि देश तथा विदेशको मुद्रा सङ्कलनमा आफ्नो रुचि रहेको र सङ्ग्रह गरिएका मुद्रा विभिन्न विद्यालयमा प्रर्दशन गर्ने योजना रहेको उहाँहरुको भनाइ छ ।
कुनै पनि सङ्घसंस्था वा अन्य विद्यालयले मुद्रा प्रदर्शन गर्न चाहेमा पनि आफूहरुले सहयोग गर्ने दिनेशले जानकारी दिनुभयो । (रासस)