काठमाडौं २३ भदौ । मदन पुरस्कार विजेता अमर न्यौपानेले बहुप्रतिक्षित नयाँ कृति ‘गुलाबी उमेर’ बजारमा ल्याएका छन । लोकप्रिय आख्यानकार कृष्ण धरावासी र कलाकार केकी अधिकारीसहित लेखक अमरले यो नयाँ कृति शनिबार संयुक्त लोकार्पण गरेका हुन् ।
प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण ‘गुलाबी उमेर’ नेपाली साहित्यकै नौलो कृति भएको मदन पुरस्कार बिजेता धरावासीले बताउनु भयो । धरावासीले भन्नू भयो ‘गुलाबी उमेर’ पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको छ ।
यो समयमा किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहारमा कसरी परिवर्तन आउँछ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास यो नयाँ कृतिले गरेको छ ।’
गुलाबी उमेर पुस्तकमा फ्रायडले प्रतिपादन गरेको इलेक्ट्रा कम्प्लेक्सलाई लेखकले चित्रण गरेको साहित्यकार मन्दछ्न । उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्को पाठक खडा गरिनु पनि नौलो अभ्यास रहेको छ ।
कलाकार केकी अधिकारीले ‘गुलाबी उमेर’ आफूलाई एकदमै फरक शैलीको कृति भएको बताईन् । पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो अधिकारिले भनिन मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँनेछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटनापरिघटनालाई सम्झन्छन्, यो पढिरहदा पाठकलाइ बाधेर राख्ने कला छ ।’
चितवन घर भएका लेखक न्यौपानेले भने आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए ।
लेखक न्यौपानेले एउटी किशोरीको हुर्कंदो उमेरको कथालाई कलात्मक शैलीमा अनौठो पाराले प्रस्तुत गरेका छन् । जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथालाई आकर्षक र सूत्रवध्द तरिकाले संयोजन गरिको छ । यही उमेरको कथालाई नै ‘गुलाबी उमेर’ को नाम दिएका छन् अमरले ।
लेखक न्यौपानेले उमेरको अवधि तोक्न पनि रोचक सूत्र प्रयोग गरेका छन् । जसलाई उनले पाँच भागमा छुट्याउँदै जन्मदेखि १२ वर्षसम्म पल्लवी, १३ देखि १९ वर्षसम्म गुलाबी, २० देखि ४० वर्षसम्म मखमली, ४१ देखि ६० वर्षसम्म बैजनी र ६१ देखि मृत्युपर्यन्तको समय अवधिलाई अस्मानी उमेरका रुपमा प्रस्तुत गरेका छन् ।


