जेसी अरुणेश्वर खनाल
(पूर्व महासचिव तथा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष , जेसीआई नेपाल )
नेपालबाट बर्सेनी हजारौँको सङ्ख्यामा दक्ष तथा अदक्ष जनशक्तिहरु रोजगारीका सिलसिलामा देशबाहिर जाने क्रम जारी छ । तीमध्ये अधिकांश १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरु नै हुने गर्दछन् । देशलाई आवश्यक पर्ने सक्रिय र आवश्यक जनशक्ति देशबाहिर पलायन हुँदा यसले राज्यलाई पर्ने घाटाको हामी आकलनसमेत गर्न सक्दैनौँ । भलै विदेसिएका नेपालीहरुले पठाएको रेमिटेन्स देशको अर्थतन्त्र एउटा बलियो अधार हो तर यसलाई अर्थतन्त्रको बलियो अधार मानेर आत्मरतिमा रमाइरहने हो भने देश एक दिन युवा विहीन अवस्थामा पुग्ने निश्चित छ । अहिले पनि देशका दुरदराजदेखि विकसित सहरहरुमा समेत तुलनात्मक रुपमा युवाहरुको सङख्या निकै कम छ । उनीहरु कि त अध्ययनको सिलसिलामा बाहिरिएका छन् कि रोजगारीको सिलसलामा । तीमध्ये अधिकांश रोजगारीकै सन्र्दभमा बाहिरिएको तथ्याङ्कहरुले पुस्टी गरेका छन् । यसको मूल कारण देशमा प्रशस्त रोजगारीको सिर्जना हुन नसक्नु, उद्यमशीलताको विकास हुन नसक्नु र स्वरोजगार मुलक व्यवसाय गर्नका लागि चुनौती हुनु नै प्रमुख कारण हो । यी विषयमा चर्चा गर्नु पूर्व सङ्क्षेपमा तलका विषयवस्तुमा चर्चा गरौँ ।
युवा भनेको के हो ?
युवा भनेको किशोरवस्था माथिको सामाजिक आर्थिक सांस्कृतिक जिम्मेबारी बोध गर्ने सुरुवात गर्दैको र शारीरिक रुपमा परिपक्वता हासिल गरेको अवस्था हो । नेपालको सन्र्दभमा युवाको उमेरको बारेमा छलफल गर्नुअघि केही अन्तर्राष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्नु जरुरी हुन्छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषाभित्र समेटेर उनीहरुको प्राथमिकताका विषयसमेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् । फिलिपिन्स र बङ्गलादेशले १५ देखि ३० वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्षसम्मको उमेरलाई युवा मानेको छ । यसैगरी दक्षिण अफ्रिकाले १५ देखि २९ जर्मनीले १४ देखि २६ भारतले १५ देखि ३५ चिनले १४ देखि २८ सम्मको उमेर समूहलाई युवा समूह मानेका छन् । नेपालको सन्र्दभमा १६ देखि ४० वर्षका मानिसहरुलाई युवा मानिएको छ । जेसिजले १८ देखि ४० वर्ष सम्मका मानिसहरुलाई युवा मानेर त्यही अनुसार आफ्नो क्रियाकलाप सञ्चालन गर्दे आइरहेको छ ।
युवा नीति, २०६६ (परिमार्जित संस्करण २०७२) र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले युवाको हक हितको संरक्षण र सम्बर्धन गरी समुन्नत मुलुक निर्माण गर्नका लागि राष्ट्रिय युवा परिषद्को स्थापनाको बाटो खोलेको थियो । नेपालमायुवा परिषद्को गठनसँगै युवाको सर्वाङ्गीण विकासका कार्यक्रमहरू हाल यसै संस्थाबाट सञ्चालन हुन थालेका छन् । राष्ट्रिय युवा परिषद्लाई मार्गनिर्देशन गर्ने दस्ताबेजका रुपमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२¸ राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ रहेका छन् । परिषद्ले विशेष गरी राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ एवम् युवा विकासका लागि दीर्घकालीन रणनीतिक योजनाको भावना र मर्म बमोजिम आफ्ना भूमिकाहरुलाई अगाडि बढाइरहेको छ । यसका लागि युवा विकासका आधारशिलाका रुपमा रहेका क्षेत्रहरुलाई पहिचान गरी पाँच वटा आधार स्तम्भहरु निर्माण गरिएका छन् जुन क्षेत्रहरु युवाको चौतर्फी विकास र देशको समृद्धिसँग पनि जोडिएका छन् । यसमा गुणस्तरीय र व्यावसायिक शिक्षा¸ रोजगारी उद्यमशीलता र सीप विकास¸ स्वास्थ्य र सामाजिक सुरक्षा¸ युवा परिचालन सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जन रहेका छन् । तर प्रभावकरी नीति नियम र भए गरेका नीति नियमको पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालमा युवाहरु अवसरहरुबाट वञ्चित हुनु परेको छ । जब युवाहरु देशभित्र नै अवसरहरुबाट वञ्चित हुन्छन् तब उनीहरुसँग विदेसिनु र पलयान हुनुको विकल्प हँुदैन । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने एक घण्टामा करिब ३३ युवा वैदेशिक रोजगारका लागि काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गर्दछन् । त्यो सङ्ख्या महिनामा करिब चौबिस हजार हुन जान्छ तर खुला सीमाना हँुदै भारतमा रोजगारमा जानेको सङ्ख्या अझै त्योभन्दा बढी हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्ने गर्दछन् तर त्यसको आधाभन्दा बढी सङ्ख्या बेरोजगार नै रहन्छ यसरी देश बाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १८–४० उमेर समूहका छन् ।” युवा रोजगारीको यस्तो डरलाग्दो तस्बिर सार्वजनिक भइरहँदा नेपालको नीति निर्माता र राजनीतिक समुदाय भने यसप्रति खासै चिन्तित देखिँदैन, यो निकै विडम्बनाको विषय हो ।
उद्यमशीलता र युवा
उद्यम गर्न सक्ने सिप र ज्ञानको विकास गर्नु नै उद्यमशीलता हो । उद्यमशीलताको विकास बिना देशको विकास सम्भव छैन । हाम्रो देशमा पनि युवालाई देशबाट पलायन हुन रोक्ने हो भने उद्यमशीलताको विकास गर्न आवश्यक छ । उद्यमशीलताको विकास र स्वरोजगारमूलक व्यवसायको सिर्जना गर्न सकिएन भने देशमा समृद्धि सम्भव नै छैन । यसका लािग राज्यले युवामाथि लगानी गर्नु जरुरी रहन्छ । क्षतमावान् जनशक्ति भनेकै युवाशक्ति अर्थात शारीरिक र मानसिक क्षमताको साथ काम गर्न सक्ने क्षमतावान् व्यक्तिहरु नै हुन् । यसकारण युवाहरुमा लगानी गर्नु नितान्त आवश्यक रहन्छ । तर विडम्बनाको कुरा नेपालमा युवामाथि हेर्ने दृष्टिकोण त्यति राम्रो देखिँदैन । युवामाथि अहिले भएका लगानी पनि त्यसै खेर गइरहेको अवस्था छ । अथवा भनौँ केही सीमित पहँुचवालाले मात्र राज्यले युवामाथि गरेको लगानीको स्वाद चाख्न पाएका छन् । विपन्न, सीमान्तकृत र आफ्ना कुनै पहुँच नभएका युवालाई उनीहरुमाथि राज्यले गर्ने लगानीको कुनै अर्थ छैन । यस्तो अवस्थामा युवा उद्यमशीलताको विकास गर्न सम्भव देखिँदैन । राज्यले आफ्नो नीतिमा व्यापक सुधार नगरेसम्म न त युवा पलायन रोक्न सकिन्छ न त देशको समृद्धिको कल्पना गर्न सकिन्छ । यो आकाशको फल आँखा तरी मर भने जस्तै हो । राज्य र नीतिगत तबरबाट नै युवाहरुको अधिकारका निम्ति प्रयाप्त कामहरु हुन नसकेका कारण अहिले नेपालका ४० लाखभन्दा बढी नेपालीहरु रोजगारीका निम्ति विदेसिनुपरेको छ ।
युवाहरु भनेका देशका सम्पत्ति हुन् । युवाहरुको दक्षता र क्षमता विकास हुन सकेको खण्डमा मात्र सही रुपमा राज्य सफल हुन सक्छ भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न नसकेका कारण यो अवस्था आएको हो । युवाहरुका निम्ति बिना धितो कर्जा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका संस्था युवा स्वरोजगार कोषबाट लगानीका निम्ति कर्जा लिने प्रक्रिया पनि आफैँमा निकै कठिन छ । उक्त कर्जा लिन वर्षौँ कुर्नुपर्ने, कर्जा रकम पनि थोरै रहेको र सबैलाई कर्जा उपलब्ध हुन सक्छ भन्ने अवस्थासमेत नरहेका कारण उद्यमशील व्यक्तिहरुले उक्त कर्जाको लागि प्रक्रिया अघि बढाउने क्रममा बर्षौँ कुर्नुपर्ने अवस्था छ ।
नेपालमा आफैँ नै नेपालमा नै रहेर केही काम गर्नुपर्छ भन्ने मानसिकता बोकेका युवाहरु पनि नभएका होइनन् । तर यस्तो सोचले सच्चा सकारात्मक उद्देश्य राखेर स्थापना भएका व्यक्तिहरुका निम्ति भने राज्यले कहीँकतैबाट सहयोग गर्न सकेको छैन । नेपाल सरकार मातहतका अधिकांश कार्यक्रमहरु पहँुचवालाहरुको नियन्त्रणमा छन् । नेपालमा विभिन्न देशबाट लगानी भित्र्याउने गैह्रसरकारी संस्थाहरुले गरेको लगानीको प्रतिफल पनि तुलनात्मक रुपमा निकै कम छ । ग्रामीण क्षेत्रका जनताहरुलाई नै देखाएर ल्याइने रकम कत्तिको सदुपयोग हुन सकेको छ ? ग्रामीण क्षेत्रमा उक्त रकम के काममा प्रयोग हुन सक्यो र त्यसबाट कुन वर्ग कसरी लाभान्वित हुन सक्यो ? भन्ने सम्बन्धमा पनि अब हामीले खोजीनिती गर्ने बेला आएको छ । कुरा जति नै गरे पनि मूल कुरा युवाहरुलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने नै हो । यदि उनीहरुलाई यी विषयवस्तुसंँ जोड्न सकियो भने मात्र उनीहरुलाई पलायन हुनबाट रोक्न सकिन्छ । यदि आफ्नै देशमा प्रशस्त मात्रामा अवसरहरु हुने हो भने कसैलाई पनि बिदेसिने रहर हँुदैन तसर्थ सम्बन्धित निकायहरुले तत्काल यसतर्फ ध्यान दिन आवश्यक छ ।
नेपालका अधिकांश स्थानका खेतबारीहरु अहिले बाँझो हुँदै गएका छन् भने नेपाल परनिर्भर बनिरहेको अहिलेको अवस्थामा नेपालमा भएका युवाहरुलाई कसरी नेपालमा नै सानो लगानीबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने सम्बन्धमा पनि नेपाल सरकार मातहत नै त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । तर यस्ता कार्यक्रमहरु नेपाल सरकारको प्राथमिकताको विषय नै बन्न नसक्नु निकै दुःखको विषय हो ।
नेपालमा सानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरुमध्ये घरेलु तथा साना उद्योग निकै राम्रो सम्भावना रहेको क्षेत्र हुन सक्छ । यस्ता कतिपय क्षेत्रहरुमा लगानी पश्चात् बजारीकरण समस्याको रुपमा रहेको पनि पाइन्छ । यस्तै अवस्थामा सम्बन्धित व्यक्तिले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको ग्यारेन्टी गर्न सक्ने सशक्त संस्था वा कम्पनी स्थापना हुनुपर्ने आवश्यकतासमेत देखिएको छ ।
नेपाल जेसिज पनि युवाहरुको नेतृत्व र व्यक्तित्व गर्ने सस्थाको रुपमा लामो समयदेखि नेपालमा क्रियाशील छ । व्यक्तित्व, नेतृत्व र क्षमताको विकास हुनु भनेको मूल रुपमा उद्यमशीलताकै विकास हुनु हो । तसर्थ अब जेसिजले आफ्ना कार्यक्रमलाई उद्यमशीलतासँग जोड्न आवश्यक छ । उद्यमशीलतासँग जोडेर जेसिजले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न सक्यो भने पक्कै पनि हजारौँ युवा यसबाट लाभान्वित हुने छन् । उद्यमशीलतासँग आवश्यक तालिम तथा प्रशिक्षणहरु र व्यावहारिक तबरको उद्यमशीलताको विकासमा जेसिजमा लाग्न आवश्यक छ । यदि यसो गर्न सकियो भने युवा पलायन रोक्न जेसिजले पनि एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यसका लागि नेपाल जेसिजले राज्यका निकायहरुसँग सहकार्य गर्न आवश्यक छ । जेसिजको अबको नेतृत्वले त्यो गर्न सक्यो भने यसबाट हजारौँ युवा लाभान्वित हुने कुरामा दुई मत छैन । राज्यले पनि ५५ वर्षदेखि युवाको क्षेत्रमा काम गरिरहेको र हजारौँ युवाको नेतृत्व गर्ने नेपाल जेसिजलाई विश्वास गर्न आवश्यक छ । यदि राज्यले जेसिजलाई विश्वास गर्ने हो भने देशभर उद्यमशीलतासम्बन्धी तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरेर जेसिजले युवहरुलाई उद्यमशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । देशभर १५० भन्दा बढी जेसिजका शाखाहरु मार्फत युवाहरुलाई उद्यमशील बनाउन जेसिजले प्रेरतिमात्र गर्दैन उनीहरुलाई उद्यमशील बनाउन जेसिज सक्षम पनि छ । यसका लागि अबको नेतृत्वले काम गर्न आवश्यक छ । राज्यले यसतर्फ ध्यान देओस् ।
अन्त्यमा, हाम्रो देशबाट बर्सेनी पलायन हुने गरेका युवालाई रोक्नका लागि उद्यमशीलताको विकास नै एक महत्त्वपूर्ण काम हो किनकि उद्यमशीलताको विकासबाट मात्र देशमा समृद्धि सम्भव छ । युवालाई स्वरोजगार बनाउँदै उनीहरुलाई उद्यमी बनाउन सकियो भने यसले राष्ट्र निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यका सम्बन्धित निकायहरुको यसतर्फ ध्यान जाओस् ।


