उपचार सकेर प्रधानमन्त्री ओली आज नेपाल आउदै

काठमाडौं, २० भदौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिङ्गापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको नियमित उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए ।

सिङ्गापुरमा उनको ‘प्लाज्मा फेरिसस’ को उपचार विधिबाट मृगौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले स्वदेश फर्किन लागेको बताइएको छ ।

प्रधानमन्त्री ओली आज मध्याह्न साढे १२ बजे स्वदेश फर्कने तय भएको उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किने बताइएको छ ।

प्रधानमन्त्री ओली यसअघि साउन १८ मा सिङ्गापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए । उनी उपचार गराएर साउन २७ मा फर्किएका थिए ।

सिङ्गापुरबाट फर्किएको १० दिनपछि प्रधानमन्त्री ओली ‘फलोअप’ उपचारका लागि सिङ्गापुर गएका हुन् । उपचारका क्रममा प्रधानमन्त्री ओलीले सिंगापुरबाटै दुई पटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए ।

यसैबीच पटक पटक उपचाका लागि सिङ्गापुर जाँदा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी नगराइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले सरकारको आलोचना गरेका छन् ।

उनीहरुले सरकार प्रमुख नै उपचारका क्रममा विदेशमा रहे पनि त्यसको बारेमा कुनै जानकारी नगराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

शेयर गरौ

ताजा अपडेट