ल्होछारको तयारीमा तामाङ समुदाय, बिदा कटौती भएकोमा आपत्ति

 

माघ १८, चितवन ।

नेपाल तामाङ घेदुङ रत्ननगर समितिले २८५५ फाग् ल्हो (बदेल बर्ग) सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । चाडपर्वमा दिईने विदा कटौति गरेर तामाङ लगायत आदिवासी जनजाती समुदायलाई विभेदपुर्ण व्यवहार गरेकाले सरकारको ध्यानाकर्षण गर्न यसवर्ष शक्तिप्रदर्शनका रुपमा मनाउने जनाएको हो ।

ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए ।

उनले सो दिनको एकतालाई एक प्रकारको शक्ति प्रदर्शनको रुपमा पनि बुझ्न सकिने बताए । सोनाम ल्होछारको दिन माघ २२ गते रत्ननगरको बकुलहरचोक देखि टिकौली चौरसम्म र्यालीको समेत आयोजना गरिएको छ ।

¥यालीमा तामाङ भेषभुषा, संस्कृति तथा कला झल्कने गरि सहभागि हुन सबैलाई अव्हान गरिएको अध्यक्ष लामाले बताए । र्यालीपछि प्रदेश नं. ३ का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितिमा विविध साँस्कृतिक कार्यक्रम तथा सहभोजकोसमेत आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु मिलन लामा, हरि योञ्जन, डिबी लोप्चन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ भने जातिय संस्कृति र भेषभुषा झल्कने विविध नृत्य प्रस्तुत गरिनेछ । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका नगरभित्रका अग्रज तामाङ अगुवाहरुलाई सम्मानसमेत गरिने घेदुङका सचिव आशिक तामाङले जानकारी दिए ।

यसैबीच भरतपुर नगर तामाङ समाज चितवनले पनि विभिन्न कार्यक्रम गरी ल्होछार मनाउने भएको छ । शुक्रबार भरतपुर ११ स्थित छेच्यु थर्पलिङ गुम्बामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो । संस्कृतिले जाति चिनाउँछ, जातिले राष्ट्र चिनाउँछ भन्ने मुल नाराका साथ मनाईने यस वर्षको ल्होछार कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती पनि रहने समाजका अध्यक्ष एवंम कार्यक्रम संयोजक गंगालाल तामाङले बताए । उनका अनुसार ल्होछारको दिन संयुक्त कार्यक्रम गरी मनाए पनि सवैले घरघरमा लुंगदर फेर्ने, आफन्तकोमा जाने तथा शुभकामना आदानप्रदान गर्न गरीन्छ ।

छेच्यु थर्पलिङ गुम्बामा हुने कार्यक्रमलाई सफल बनाउन ल्होछार कार्यक्रम मुल आयोजक समिति गठन गरी गुम्बा सरसफाइ, रंगरोगन, प्रचारप्रसार लगायतका तयारीलाई तिब्रता दिईएको समाजका सचिव सुर्य प्रकाश लामाले बताए । नयाँ वर्षका रुपमा मनाईने ल्होछार पर्व तामाङ समुदायको सवै भन्दा ठुलो सांस्कृतिक पर्व हो । हरेक वर्ष ल्हो परिवर्तन हुने परम्परा अनुसार यस वर्ष कुकुर वर्गलाई विदाई तथा बँदेल वर्गलाई स्वागत गरी ल्होछार मनाउदैछन । ल्होछारमा शुभकामना आदान प्रदान गर्ने, मिठो मसिनो खाने, आफु भन्दा ठुलाबाट आशिर्वाद लिने, गुम्बामा गई पुजा गर्ने तथा हरेक घरमा नयाँ लुंगदर राख्ने गरी धुमधामका साथ मनाउने गर्दछन ।

शेयर गरौ

ताजा अपडेट