चितवन, १८ भदौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनमा स्थापना गरिएको छ ।
कार्यालयको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा उहाले राष्ट्रिय परिचयपत्रको महत्व धेरै रहेको बताउनु भयो । सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेकोमा प्रचण्डले जोड दिनु भयो ।
राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उहाँले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ । ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित हुने उहाले विश्वास दिलाउनुभयो ।
सो अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्रमा दिइने ‘दश अङ्क’ व्यक्तिको परिचय भएको जानकारी दिनुभयो । पाँचथरबाट शुरु भएको परिचयपत्र वितरणको कार्य दोस्रो चरणमा चितवनसहित १५ जिल्लामा लागू भएको र चालू आर्थिक वर्षमा नै देशभर लागू हुने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले असार महिनाबाट परिचयपत्र निर्माणको काम शुरु भएको जानकारी दिनुभयो । कार्यालयको उद्घाटनपछि पूर्वप्रधानमन्त्री दाहालले समेत परिचयपत्रका लागि तस्वीर खिचाउने, बायोमेट्रिक गर्ने, आफ्नो विवरण कम्प्युटरमा दर्ता गर्ने काम गर्नुभएको थियो । कार्यक्रममा कानुन न्याय तथा मावनअधिकार समितिका सभापति तथा निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, सांसद पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी, दावा लामालगायतको उपस्थिति रहेको थियो । भरतपुर महानगरापलिकाका प्रमुख रेनु दाहालले पनि परिचय पत्रको लागि फोटो खिचाउनु भएको थियो ।


