सञ्चारकर्मी रवि लामिछाने जिल्ला अदालत आदेशविरूद्ध उच्च अदालत जाने

 

चितवन १७ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका न्यूज २४ का सञ्चारकर्मी रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत पुगेका छन् ।

लामिछानेले आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गर्दै उच्च अदालतको हेटौंडामा निवेदन दिएको इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिएका छन् ।

‘जनतासँग सिधा कुरा’ कार्यक्रम सञ्चालक लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी लिंदै तारेखमा छाडेको थियो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सोही मुद्दामा पक्राउ परेकी अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो ।

‘लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रक्रियाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युब जस्ता काम नगर्ने–नगराउने, औषधि उपचारका लागि जानु परे अदालतको पूर्व अनुमति लिएर मात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ । पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले आत्महत्याअघि एउटा भिडियो खिचेर आफू लामिछाने, कँडेलका र अस्मिता कार्कीका कारण आत्महत्या गर्न वाध्य भएको बताएका थिए । पुडासैनी न्यूज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्व संवाददाता हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की ९रूकु० लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले असोज ५ गतेका लागि उनीहरुलाई तारेख दिएको थियो ।

शेयर गरौ

ताजा अपडेट