राष्ट्रपति भण्डारीद्धारा तीजको शुभकामना सन्देश व्यक्त

काठमाडौं, १६ भदौ :

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपतिले शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताएकी छन्।

त्यस्तै

उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गरे। पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताए।

त्यस्तै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताएका छन्। हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन्।

शेयर गरौ

ताजा अपडेट