तनहँु, ६ भदौ :
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ नं वडा कार्यालयले ‘एक घर एक उत्पादन’ कार्यलाई प्राथमिकता दिएको छ ।
स्थानीयवासीलाई स्वरोजगारतर्फउन्मुख बनाउने उद्देश्यले वडाले एक घर एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो । एक घर एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।
मौरीपालन कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीको घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । एक वटा मौरी घार बराबर दुई वटा चिउरीको बिरुवा रोप्नुपर्छ । उहाँले भन्नुभयो, “एक वटा मौरीको घार बराबर मौरीपालनका लागि वडा कार्यालयले आवश्यकपर्ने सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।” एक घर, एक टनेलखेतीतर्फ ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल उपलब्ध गराइनेछ । एक प्लाष्टिक टनेल बराबर आवश्यक मल्चिङ प्लाष्टिक र असिना प्रतिरोधात्मक नेट जाली निःशुल्करुपमा वडाले प्रदान गरिनेछ ।
वडा कार्यालयले पाँच वटा माउ बाख्रा पाल्ने कृषकलाई रु ३० हजार, १० वटा माउ बाख्रा पाल्ने कृषकलाई रु ५० हजार र १५ वटा माउ बाख्रा पाल्ने कृषकलाई रु एक लाख अनुदान वितरण गर्ने भएको छ ।
यसका लागि वडा कार्यालयमा सूचीकृत भएका, व्यावसायिक बाख्रापालनसम्बन्धी तालीम लिइ ज्ञानआर्जन गरेको, मापदण्डअनुरुप सुधारिएको खोर निर्माण गरेको र आवश्यकमात्रामा घाँसखेती गरेको हुनुपर्ने प्रावधान रहेको छ । बाख्रापालन कृषकलाई माउ बाख्राको सङ्ख्याअनुसार अनुदानको व्यवस्था, बाख्रा बीमाको व्यवस्था, उत्पादित वस्तुको बजारीकरण, आवश्यक परेमा ऋणको व्यवस्था, नियमित तालीम तथा अवलोकन भ्रमणको व्यवस्था गरिएको छ ।
व्यावसायिक कागती खेती गर्ने कृषकलाई तीन वर्षसम्म प्रति बिरुवा रु १०० अनुदान प्राप्त गर्न सक्नेछन् । वडाध्यक्ष गुरुङले भन्नुभयो, “त्यसका लागि कम्तीमा २५ बिरुवा लगाएको हुनुपर्नेछ ।”(रासस)


