व्यक्ति एक प्रतिभा अनेक

शालिग्राम नेपाल, 
चितवन ।

अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने धेरै हुन्छ, तर सफलता पाउने थोरै मात्र । ति थोरै मध्यकी एक प्रतिभा हुन् दीप्ति कोइराला । चितवनको भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययन गर्दै आउनु भएकी कोइरालासंग प्रतिभा अनेक छ ।
साहित्य लेखन, पेन्टिङ, चित्रकला, बक्तृत्वकता, वादविवाद, हजिरिजवाफमा उहाँको कुशलता छ । प्राथमिक तहदेखिनै प्रतियोगितामा सहभागी हुनु भएका कोइराला पुरस्कार पाएर मात्र आउने गरेको अनुभव सुनाउनु हुन्छ । साहित्यकार नवराज पराजुलीको प्रेरणाबाट सहित्य क्षेत्रमा कलम चलाउन थाल्नु भएका कोइराला कथा कविता लेखेर पुरस्कृत हुनु भएको छ । पराजुलीले लेख्नु भएको सगरमाथाको गहिराई कविताबाट नै आफूले कविता लेखेको भन्नुहुन्छ ।
आफूले पढ्ने विद्यालयको विषयमा लेख्नु भएको कविताबाट उहाले पुरस्कार पाउनु भएको छ । कविता, कथा लेख्न रुचि उहाँमा छ ।
कोइराला भन्नु हुन्छ ‘मेहनत गर्न छाड्न हुदैन सफलता पाइन्छ, समय र आफ्नो क्षमतापनि बृद्धि गर्न सक्नु पर्दछ ।’ पढाइलाई असर नपार्ने गरी फुर्सदको समयमा खाली नबसी रुचिका विषयलाई ध्यान दिनु पर्दछ ।

शिक्षकहरु र वुवासंग दीप्ति
आफूले पढ्ने विषयलाई अलगै तरिकाले पढ्ने बानी बसालेकाले अतिरिक्त क्रियाकलापलाई समय दिन सकेको उहाँको भनाइ छ । कोइरालाले अन्तरराष्ट्रिय छनौटको लागि वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा राष्ट्रिय प्रथम हुनु भएको छ । भारतमा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा केही समयपछि प्रतिश्पर्धीका रुपमा सहभागी हुनुहुनेछ । यो मात्र नभइ साहित्य, चित्रकला हाजिरीजवाफ प्रतियोगितामा समेत उहाले क्षमता देखाइसक्नु भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएपछि प्रथम भएर मात्र आउने उहाको बानी भएको शिक्षकको भनाइ छ । कक्षा ४ बाट उहाले यस्ता फरक क्षमता देखाउदै आउनु भएको हो । कक्षा ४ मा अध्ययन गर्दा उहाले बादबिवादमा प्रथम भएर जितेको अनुभव छ । त्यसपछि उहाले दर्जनौ कार्यक्रममा सहभागी भएर पुरस्कार पाउनु भएको छ । सहभागी मात्र होइन प्रथम, दुतीय, तृतीय भएर आउनु भएको छ । विद्यालयमा, महानगरपालिका स्तरीय प्रतियोगिता, जिल्ला स्तरीय प्रतियोगिता र राष्ट्रिय प्रतियोगितामा प्रथम भइसक्नु भएको छ ।
दिप्तीलाई अध्ययनसंगै अतिरिक्त कृयाकलापमा सहभागी हुन मन लाग्दछ । तर समयको उचित तरिकाले व्यवस्थापन गर्न नजान्ने हो भने सफलता पाउन मुस्किलन हुने उहाको भनाइ छ । अध्ययन गर्ने समयमा पढ्नै प¥यो । पढ्ने भन्दा बाहेकको समयमा ज्ञानका कुरा सिक्नु पर्दछ । बाँकी रहेको समयमा अतिरिक्त कृयाकलाप गर्ने गरेको छु उहाले भन्नु भयो ।

विभिन्न प्रतियोगितामा उत्कृष्ट भएवापत दीप्तिले पाएका प्रमाणपत्रहरु
तनहुँको देवघाट घर भएको उहाँ चितवन बोडिङ स्कुलमा कक्षा ८ सम्म अध्ययन गर्नु भएको थियो । कक्षा ९ बाट सामुदायिक विद्यालय नारायणी नमुना माविमा पढ्दै आउनु भएको छ । वादविवाद, कविता बाचन प्रतियोगिता, लेखन प्रतियोगितामा सहभागी भएर पुरस्कृत भइसक्नु भएको छ । उहालाई अध्ययनसंगै बाहिरी विषयसंग रुचि धेरै थियो । मलाइ पढाइसंगै अतिरिक्त कृयाकलाप ज्यादै मन पर्छ कोइरालाले भन्नु भयो । हवाई इन्जिनियर बनेर देशको सेवा गर्ने लक्ष्य उहाले लिनु भएको छ ।
पढाइमा सम्झने प्रेरणा र सिप अर्पण शर्माबाट पाएको उहाँको भनाइ छ । शर्माको युटुवबाट सिक्ने, फेसबुक पेजबाट सिक्ने गरेको बताउनु हुन्छ । कुनैपनि विषयलाई दृष्य मार्फत सम्झने प्रयास गरेकाले सहज भएको अनुभव छ । हरेक व्यक्तिले केही न केही क्षमता लिएर आएका हुन्छन् त्यो क्षमता चिन्न सकेमा सफल भइन्छ भन्ने उहाँको सुझाव छ ।
उहाले विद्यालयको विषयमा लेख्नु भएको कविता
मुटु
त्यसमाथि पनि
ढुकढुकी,
गौरव र शान
चितवनको पौरख पनि
नारायणी नमुना मावि
…….
विद्यार्थीको रोजाई
गुणस्तरीय पढाई
शिक्षाको ज्योति छर्दै
उभिदै छ मेरो नारायणी मावि

यो कविताबाट उहा पुरस्कृत हुनु भएको छ । यो मात्र होइन चित्रकलामा उहाँको क्षमता अझ उत्कृष्ट छ । पानी रंगको माध्यमबाट उहाले चित्र कोर्नु हुन्छ । फूल र विद्यार्थीको सम्वन्धको बारेमा चित्रमार्फत व्याख्या गर्नु भएको छ । इडन गार्डेन विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगतामा प्रथम हुनु भएको छ ।


गणतन्त्र दिवसको अवसरमा अन्तरमाध्यमिक विद्यालय स्तरीय गणतन्त्र र विकास २०७६ वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु भयो । त्यस्तै गरी अर्बिट युनिक स्कुलको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७५मा दुतीय हुन सफल भएको छ । यो मात्र होइन उहाले दर्जनौ प्रतियोगितामा सफलता पाएर आउने गर्नु हुन्छ । पढाइमा पनि उहाँ कक्षाको दोस्रो स्थानमा हुनुहुन्छ ।


विद्यालयका शिक्षक विशाल अधिकारी भन्नु हुन्छ ‘एउटा प्रतिभावान विद्यार्थीको रुपमा लिएका छौ, अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा अब्बल देखिएको छ ।’ क्षमता भएका विद्यार्थीलाई हामीले विभिन्न अवसरमा सहभागी गराउदै आएका छौ विद्यार्थीकै कारण विद्यालयको नाम पनि फैलिएको उहाले बताउनु भयो । अभिभावक वुवा ढकराज कोइरालाले भन्नु भयो ‘छोरीको रुचि अनुसार सहयोग गर्ने गरेको छु, पढाइमा अल्छी लागेको बेला अतिरिक्त क्रियकपालमा सहभागी गराए उर्जा मिल्छ ।’ आफ्ना सन्तान अध्ययन गरेको समयमा आफूले मोवाइल चलाउने, वास्ता नगर्ने जस्ता बानी हटाएर पढाइ कस्तो गरेको छ भनी ध्यान दिएमा सफलता पाउन सहज हुने उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट