चितवन समाचार डटकम
४ भदौ ।
‘वाह ….कति रमाइलो, यस्तो अनन्द मैलै अहिलेसम्म महसुस गर्न सकेकी थिइन, यो ठाउँमा फेरि आउछु प्राकृतिक सुन्दरता मेरो रुचि हो’ जलवीरेको लामो झरनामा हेरेपछि लजिना घिमिरेले भनिन् ।
काठमाण्डौको एकान्तकुना घर भएकी घिमिरे साथीसंग घुम्नको लागि चितवनको इच्छाकामना गाउपालिकामा पर्ने लामो झरनामा आएकी थिइन । पत्रपत्रिकामा पढेको थिए चिनजानका आफन्तले भनेको सुनेकी थिए उनले भनिन् ‘भनेको भन्दा धेरै आनन्द लाग्यो, यहा आएपछि सबै कुरा बिर्सिदो रहेछ गर्मीमा पनि जाडो हुने ।’ झरनाको सुन्दरता देखेपछि ननुहाइ बस्न सकिनन् । उनले भनिन् ‘नुहाउछु भनेर आएको थिइन यहाँ आएपछि मनलाई रोक्न नसक्दा नुहाए ।’

समुहमा घुम्न आएकी लजिनालाई प्राकृतिक सुन्दरता धेरै मन पर्छ । उनीसंगै आएकी अर्की सेजी श्रेष्ठलाई पनि घुम्न र रमाइलो गर्न ज्यादै मन लाग्छ । गैर सरकारी सस्थामा काम गर्दै आएकी उनले भनिन् ‘साथीहरु मिलेर घुम्न जाउ भन्ने योजना मिलाएर यहाँ आएका हौ ।’ पोखरा जाने कार्यक्रम थियो उनले भनिन् ‘यहाँको झरनाको बारेमा सुनेकाले हेर्न आएको ज्यादै रमाइलो भयो, दिन गएको पत्तै भएन ।’
झरनाको सेल्फी लिनलाई व्यस्त भएकी रोजिना गुरुङले भनिन् ‘ताल र हिमालको फोटो खिचियो तर यती नजिकबाट झरना खिच्न पाएको थिइन ।’ पोखरा हेम्जा घर भएकी उनी परिवार सहित घुम्न आएकी हुन् । टिभी सिनेमामा यती राम्रो झरना देखेपनि नजिकबाट महसुस गर्न नपाएको बताइन । उनी मात्र होइन ७५ वर्षीय हजुरबुवालाई समेत ल्याएकी थिइन । बृद्ध हिराबहादुरले भने ‘हामी सानोमा यस्तो झरनामा धेरै नुहाउने गर्दथियौ, अहिलेका केटाकेटीलाई अचम्म लाग्छ ।’ खुसी हुदै उनले भने ‘झरनाले सानोको याद दिलायो, ननुहाएपनि हेरेर आनन्द लिए खुसी छु ।’ सडकको नजिकै व्यबस्थित पारेको रहेछ जाडोमा भन्दा गर्मीमा यो झरना महत्व धेरै हुन्छ उनले आफ्नो अनुभव सुनाए ।

मुग्लिन नारायणगढ सडक खण्डको जलवीरेबाट करिब २५ मिनेटको पैदल यात्राबाट पुगिने यो स्थान जानको लागि सडक मार्ग छ । निजि सवारी साधनबाट १० मिनेटमा पुग्न सकिने यहाँको आकर्शण फरक छ । चितवन जिल्लाको पर्यटन विकास समितिले यो झरनालाई पर्यटकीय एउटा गन्तव्यको रुपमा राखेको छ । अन्य स्थानमा पनि झरना छ । तर लामो, सुन्दर सवारी साधनको पहुच पुगेको नजिकको झरना भने यहाँ भन्दा अन्य स्थानमा छैन ।
१२ वर्ष अगाडि जिल्ला विकास समिति चितवनले नयाँ पर्यटकीय क्षेत्र भनेर पहिचान गरेको यो झरना अहिले स्वदेशी विदेशीको आकर्षण बनेको छ । गर्मीको समयमा दैनिक एकहजार जना पर्यटकको घुइचो लाग्ने गर्दछ । जाडोको मौसममा पनि यहाँ आउने पर्यटकको सख्यामा भने कमी आउदैन । मौलाकालिका मन्दिर दर्शन गर्न गएका भरतपुर ७ का युवाहरुको एउटा समुहले तत्कालै कार्यक्रम बनाएर लामो झरना आए । समुहका एक सदस्य रविन अधिकारीले भने ‘हामी मंदिर दर्शन मात्र गर्न गएका थियौ, लामो झरनाको कुरा चलेपछि यहाँ आयौ ।’

म्याजिक साधन रिजर्भ गरेर गएका उनीहरु दिनभरी झरनामा बिताए । ‘पहिला एक पटक आएको थिए अहिले धेरै सुविधान बनाइएको रहेछ’ अर्का युवा सुनिल लामाले भने । यहाँ आएपछि छुट्टै आनन्द मिल्छ, जाडो मौसम भएपनि यहाँको रमाइलोले तानेर आए उनले भने । उनी मात्र होइन यहाँ शनिबार पोखरा, काठमाण्डौ, वुटवल, हेटौडा, चितवन लगायत विभिन्न जिल्लाबाट झरनाको आनन्द लिन आएका थिए । शनिबार र विदाको दिनमा यहाँ मानिसको भिड लाग्ने स्थानीय बताउँछन् ।
इच्छाकामना गाउपालिकाले यस क्षेत्रलाई पर्यटकीय आकर्षकको स्थानको रुपमा लिएको छ । यो संगै उपरदाङगढी, इच्छाकामना मन्दिर, सिराइचुली लगायतको स्थानलाई प्रचार गरेर पर्यटक भित्राउने लक्ष्य लिएको छ । गाउपालिका प्रमुख गीता गुरुङले भनिन् ‘यस गाउपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा लैजाने योजना रहेको छ, हामीले हरेक वर्ष यसको विकासमा बजेट छुट्टाएर काम गरिदै आएका छौ ।’

राजमार्गको नजिक भएकाले लामो झरनामा जाने व्यक्ति धेरै छन् उनले भनिन् ‘यो बाहेक सिराइचुली जहाँबाट मनोरम हिमश्रृङखला देखिने, चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढी अर्को आकर्षण हो ।’ हामीसंग आकर्शक स्थान भएर पनि विकास र प्रचारको कारणले पछाडि परेका छौ उनले भनिन् अहिले त्यस्ता ठाउँलाई प्राथमिकता दिएर काम गर्दै आएका छौ । केही वर्ष अगाडिको लामो झरना र अहिलेको झरनामा फरक भएको छ । नुहाउने स्थानको निर्माण, कपडा फेर्ने कोठा, बाथरुम शैचालय, एकै पटक धेरै नुहाउन मिल्ने पोखरी, पानी झरेकै स्थानमा आकर्शक पानी बग्ने ठाउ निर्माणले धेरैलाई लोभ्याउछ उनले भनिन् । यहाँको विकासको लागि आन्तरिक तथा बाह्य पर्यटकसंग शुल्क लिएर प्रवेश गर्नु पर्ने व्यवस्था रहेको छ । यहाँ दैनिक हजार भन्दा धेरै आउने लामो झरना पर्यटन विकासले जानकारी दिएको छ । यहाँ पछिल्ला समय चलचित्र, म्युजिक भिडियो सुटिङको लागि आउनेको सख्या बढेको छ ।


