नेपालको वरियता खोसियो : झलनाथ तेस्रो बरियतामा

काठमाडौं, १ भदौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले माधवकुमार नेपाल भन्दा अगाडि झलनाथ खनाललाई राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वरियतामा वरिष्ठ नेताको १ नम्बरमा खनाल र २ नम्बरमा नेपाललाई राख्ने निर्णय गरेको प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए । नेपालले वरियतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको जनाइएको छ ।

नेपालले तीन नेताहरुलाई सचिवालयमा लैजान प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेको तर, बैठकले उनको प्रस्तावलाई अस्वीकार गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ । नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए । पार्टीमा पाँचौं वरियताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाएको हो ।

नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएका थिए । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए । गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो ।

तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए ।

पार्टी एकताको झण्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाएको हो । नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको थियो ।
कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षमा समेत प्रस्ताव गरिएको छ ।

पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन । स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष तयारी छ । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो । एकताको समयमा माधव नेपाल झलनाथ खनाल भन्दा वरियतामा अगाडि थिए । आजको बैठकले नेपालको त्यो वरियता खोसिएको हो ।

शेयर गरौ

ताजा अपडेट