काठमाडौं १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् ।
उपचार गराएर स्वदेश फर्केको एक सातापछि नै प्रधानमन्त्री दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य जाँचका लागि सिंगापुर गएका थिए । उनी ९ दिन सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।
अघिल्लो साता सिंगापुरमा चलाइएको नयाँ औषधिको ‘इफेक्ट’बारे थप जाँचका लागि सिंगापुर जानै पर्ने भएको प्रधानमन्त्री निकट एक नेताले जानकारी दिए । प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भदौ ४ या ५ पाँच गते हुनेछ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नियमित औषधि खाइरहेका छन् ।
नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री ओली विदेश जाँदा अर्का अध्यक्ष प्रचण्ड स्वतः कार्यवाहक अध्यक्ष बन्ने गरेका छन् । यो साता पनि ओली सिंगापुर गएका बेला प्रचण्ड नै कार्यवाहक अध्यक्ष बन्नेछन् ।
प्रधानमन्त्री ओलिको स्वास्थ्य रिपोर्ट कस्तो थियो भन्ने बारेमा सार्वजनिक गरेको छैन । ओलिले आजै ससदलाइ सम्बोधन गरेका थिए ।


