स्पेनिस ला–लिगा फुटबलमा रियाल मड्रिडको विजयी सुरुवात

काठमाडौं, १ भदौ :

स्पेनिस ला–लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा रियालले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्‍यो । सेल्टा भिगोको मैदानमा १० खेलाडीमा सिमित भएपनि रियालले उत्कृष्ट जित निकाल्यो । रियालको जितमा करिम बेन्जमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाका इकर लोसडाले एक गोल फर्काए ।

खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियाल १० खेलाडीमा समेटिएको थियो ।

ला–लिगा फुटबलकै अन्य खेलहरुमा रियाल मयोर्काले आइबारलाई २–१ ले हराउँदा ओसासुनाले लेगानेजलाई १–० ले पराजित गरेको छ । भियारियाल र ग्रानाडाले ४–४ गोलको बराबरी खेलेका छन् ।

ताजा अपडेट