चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहनको अभियोग लागेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन प्रहरीले नियन्त्रणमा राखेको छ ।
हिजो साँझ प्रस्तोता लामिछाने र युवराज कँडेललाई न्युज २४ टेलिभिजन कार्यालयबाट र नर्स अस्मिता कार्कीलाई तिलगंगाबाट नियन्त्रणमा लिएको थियो । चितवनबाट गएको प्रहरीको टोली र काठमाण्डौको प्रहरीको टोलीले नियन्त्रणमा लिएर रातिनै चितवन ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।
१ बजे मध्य रातमा ल्याएको उनीहरुलाई कडा सुरक्षाका बिच प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । रविका समर्थक र सर्वसाधारणको राति प्रहरी कार्यालय वरीपरि भिड लागेको थियो । नियन्त्रणमा लिएका तीनै जना विरुद्ध अनुसन्धानको लागि आज सरकारी वकिलसंगको छलफल तथा परामर्शपछि थप प्रकृया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २० गते मंगलबार चितवनको नारायणगढ स्थित पोखरा बसपार्कको एक होटलमा घाँटीमा पासो लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको साथबाट फेला परेको मोबाइलमा मृत्यु हुनु अघि मर्नुको कारण सहित भिडियो सन्देश छाडेका थिए । त्यही सन्देश अनलाइनमा सार्वजनिक भएपछि प्रहरीलाई पक्राउ गर्न दवाव बढेको थियो । सार्वजनिक भिडियोमा पुडासैनीले आफू मर्नुको कारण रवि, युवराज र कार्की रहेको खुलाएका छन् ।
भिडियो चितवन प्रहरीको संरक्षणमा रहेको थियो । प्रहरीले भने आफ्नो कार्यालयबाट भिडियो कुनै निकायलाई नदिएको दावी गरेको छ ।


