पत्रकार पुडासैनी आत्महत्या गर्नुको कारण खुलाइएको भिडियो सार्वजनिक : यसो भन्छ चितवन प्रहरी

चितवन समाचार डटकम
२९ साउन ।

झुण्डीएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मर्नु अघिको भिडियो सार्वजनिक भएको छ ।
चितवनको पोखरा बसपार्क नारायणगढको एक होटलमा झुण्डिएर आत्महत्या गरेपछि उनको मोवाइलमा मर्नु अघि रेकर्ड गरेको भिडियो आज सार्वजनिक भएको हो । नेपाल आज अनलाइनले भिडियो सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको छ । आत्महत्या लगतै उनको मोवाइलमा मर्नुको कारण खुलाइएको भिडियो सार्वजनिक भएको समाचार बाहिरिएको थियो । तर चितवन प्रहरीले यस विषयमा खुलस्त जानकारी गराएको थिएन ।
आज अपरान्ह नेपाल आज अनलाइनले भिडियो सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको हो । सार्वजनिक भिडियोमा न्युज २४ टिभिको जनतासंग सिधा कुरा कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई मार्न वाध्य बनाइएको भनेका छन् । पत्रकार पुडासैनीले रुदै आफूलाई फसाउन खोजेको, पत्रकार रबिले बार्गेनिङ गरेर पैसा कमाएको, आफूलाई दुःख दिएको भनेका छन् ।

भिडियोमा पत्रकार पुडासैनीले यसो भनेका छन् ।
‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए ।
थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४।५ हजार खर्च हुने कोठाभाडा यताउता सबै त्यसैले पु¥याउनुपर्ने । प्यारी सम्झना मैले कसरी सक्नु । रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो , तर अरूको प्रगति देख्न सक्नु भएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ ।
मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ ।’ कुमारीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन् ‘सम्झना, तिमी भर्खर २२।२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’
आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन् ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरू डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्की (रूकु)को पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पितल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान बिहान पु¥याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर पसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’

भिडियो सार्वजनिक पछि चितवन प्रहरी
भिडियो सार्वजनिक भएपछि चितवनले प्रहरीले आफूलाई त्यस विषयमा जानकारी नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले अनुसन्धानको क्रममा रहेकाले कुन स्रोतबाट भिडियो सार्वजनिक भएको आफूलाई जानकारी नभएको बताउनु भयो । उहाले भन्नु भयो ‘प्रहरीको स्रोतबाट भिडियो सार्वजनिक भएको होइन, घटनाको अनुसन्धान भइराखेको छ, यस विषयमा अरु केही भन्न सकिदैन ।’ पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ घटनाको विषयमा विस्तृत विवरण नआएसम्म केही भन्न सकिदैन ।

शेयर गरौ

ताजा अपडेट