युवाः वर्तमान अवस्था, सम्भावना र चुनौति

—संजय कुमार चौधरी
युवा अधिकारकर्मी
युवाः
युवा को हो भन्ने बित्तिकै सबैले आफुलाई युवा भनीे दाबी गर्ने गर्दछन् । युवाको रुपमा आफुलाई दाबी गर्न पाउँदा सबैले गर्व महसुस गर्दछन् । युवा सिर्जनात्मकता, सक्षमता, कृयाशिलता र नयाँ जोश जाँगर र विचारको आधारशिला हो भन्दा कुनै फरक पर्दैन ।समय, परिस्थिति, स्थान र आवश्यकता अनुसार युवाको फरक फरक परिभाषा अनि बुझाई हुन सक्दछन् । विभिन्न संघसंस्था र ब्यक्तिहरुले युवाको परिभाषाका लागि आ आफ्नै आधार बनाएका छन् । जस्तैः उमेर, विचार, सक्रियाता, काम, आकार, आय आर्जन, जिम्मेवारी आदि ।
संयुक्त राष्ट्र संघले १५देखि २४ बर्षका उमेर समुहलाई युवा मानी उनिहरुका प्राथमिकताको क्षेत्रहरु तोकेको छ । नेपाल सरकारले निर्माण गरेको राष्ट्रिय युवा नीति २०७२ का अनुसार १६ देखि ४० बर्षको उमेर समुहका ब्यक्तिहरुलाई युवा मानेको छ । त्यस्तै युवा संघ संस्थाहरुको छाता संगठन नेपाल युवा संस्था सञ्जाल (आयोन) ले १५ देखि ३५ बर्षका उमेर समुहलाई युवा भनी परिभाषित गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि एउटै खालको युवाको परिभाषा भएको पाईदैन । विभिन्न देशमा विभिन्न रुपमा युवालाई परिभाषित गरिएको पाईन्छ । जस्तैः संयुक्त राष्ट्र संघले १५–२४ बर्षका उमेर समुह, जापानमा ०–२४, जर्मनीमा १४–२६, भारतमा १५–३५, श्रीलंकामा १५–२९, चीनमा १४–२८, दक्षिण अफ्रिकामा १५–२९, मलेसियामा १५–४०, अमेरिकामा १४–३५, फिलिपिन्स र बंगलादेशमा १५–३० बर्षका उमेर समुहलाई युवा भनी परिभाषित गरिएको पाईन्छ ।
सन् १९९९ डिसेम्बर १७ मा भएको संयुक्त राष्ट्र संघको साधारणसभाले विश्वका सरकारहरुलाई युवा नीति निर्माण गर्न र कार्यान्वयन गर्न अनुरोध गर्दै प्रत्येक बर्ष अगष्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने घोषणा गर्यो । त्यसैले सन् २००० अगष्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै आईरहेको छ । नेपालमा पनि सन् २००४ अगष्ट १२ देखि सरकार र विभिन्न युवा संघसंस्थाहरुको अगुवाईमा युवा दिवस मनाउदै आएको छ ।
नेपालमा प्रत्येक बर्ष करिब ४ लाख ५० हजार युवाहरु श्रम बजारमा भित्रिन्छन् । श्रम मन्त्रालयको तथ्यांक अनुसार प्रत्येक दिन बैदेशिक रोजगारका लागि मात्रै सरदर १२०० युवाहरु बिदेशिन्छन् । प्रत्येक दिन सरदर २–३ वटा लास नेपाल भित्रिन्छन् । तर देशभित्र युवा रोजगारीका अवसर न्यून हुँदा र राज्यको ठोस नीति तथा प्रभावकारी कार्यक्रम बन्न नसक्दा अधिकांश युवाका लागि बैदेशिक रोजगारी बाध्यकारी परिस्थिति बनिरहेको छ ।। नेपाली युवाहरु विदेशमा थ्री डी (डेन्जर, डिफिकल्ट, डर्टी) काम गर्न बाध्य छन् । उनीहरु सस्तो र दुःखको काम गर्ने जनशक्तिका रुपमा परिचित भएका छन् । राष्ट्रिय युवा नीति २०७२ को परिभाषालाई युवा मान्ने हो भने हाल नेपालमा १६ देखि ४० बर्षका युवाहरुको जनसंख्या ४०.३४ प्रतिशत रहेको छ ।
“युवा भविष्यका कर्णाधार मात्र होईनन् वर्तमानका साझेदार पनि हुन् ।
समाज परिवर्तनका हरेक आन्दोलनमा नेतृत्व गर्न सक्षम मात्र होईनन् तयार पनि छन् ।।”
आफ्नो जोश, जाँगर र नयाँ साहसिक विचारका कारणले उनिहरु कुनै पनि प्रकारका बलिदानीपुुर्ण संघर्षमा जहिले पनि अगाडि रहन्छन् । वास्तवमा भन्ने हो भने युवाहरुको काँधमा कुनै पनि देशको भविष्य निर्भर रहन्छ । तर वास्तविकता यस्तो हुँदाहुँदै पनि युवा भविष्यका कर्णाधार हुन् भन्दै वर्तमानमा युवाहरुको सहभागितालाई उपेक्षा गरिदैं आएको छ, जुन राष्ट्र निर्माणका लागि दुर्भाग्यपुर्ण हो । वास्तवमा भन्ने हो भने युवा भविष्यका कर्णाधार मात्र होईनन् वर्तमानका साझेदार पनि हुन भन्ने यथार्थतालाई बोध गर्नु जरुरी छ । विश्वमा भएका थुप्रै राजनीतिक आन्दोलनहरुलाई युवा पुुस्ताको सहभागिता, उर्जा र नयाँ विचारका कारणले विजय प्राप्त गरिएका थुप्रै उदाहरणहरु छन् । नेपालमै पनि विगतमा भएका विभिन्न राजनैतिक आन्दोलनमा युवाहरुको सक्रिय सहभागिता र नेतृत्वका कारण आन्दोलनले सफलता हासिल गरेको उदाहरण पाउन सकिन्छ । नेपालमा हाल अधिकांश युवाहरु विभिन्न पार्टीमा, तिनका भातृ अनि भगिनी संगठनहरुमा संगठित भएको देखिन्छ ।
कतिपय युवाहरु विभिन्न सामाजिक तथा गैर सरकारी संघसंस्थामा पनि आबद्ध भई क्रियाशिल छन् । तर देशको सरकारसँग युवा जनशक्तिलाई परिचालित गर्ने र उनिहरुको सिप, क्षमतालाई राष्ट्र निर्माणमा लगाउनका लागि कुनै ठोस र प्रभावकारी योजना नभएका कारण यस्ता धेरै दक्ष, अर्धदक्ष, अदक्ष युवा जनशक्तिहरु विदेशी भुुमिमा आफ्नो श्रम र पसिना बगाउन बाध्य छन् । त्यतिमात्रै होईन कतिपय युवाहरु कुलत, दुब्र्यसन र अपराधिक क्रियाकलापमा पनि संलग्न भईरहेका देखिन्छन् ।
प्रायः सबै समाजमा युवाहरुलाई नियन्त्रण र प्रभावमा पार्ने कोशिस  भएको देखिन्छ ।
युवाहरुलाई बिना कुनै सर्त प्रौढहरुलाई आदर गर्ने र उनिहरुको आदेश पालना गर्ने शिक्षा दिईन्छ । हुनत नेपाली समाज स्तरीकरणमा आधारित सामाज ९क्तबतगक दबकभम कयअष्भतथ० भएका कारणले पनि यो स्वाभाविक होला । गतिशिल समाजमा समाजलाई स्थिर राख्नका लागि यस्तो प्रकारको उमेरको विभेदको प्रयोग गर्ने गरिन्छ । राजनीतिमा झनै यस प्रकारको उमेरको विभेद लामो समयदेखि चल्दै आईरहेको छ । राजनीतिक पार्टीका कतिपय नेताहरुले उर्जावान युवाहरुबाट आफुलाई पाखा लगाउने भय पालेका हुन्छन् । युवाहरुलाई स्थान दिने, उनिहरुका उर्जाशिल विचार सुन्ने संस्कृतिको विकास हुन सकेको छैन । यद्यपि मानिस जति परिपक्व बन्दै जान्छ, उसको अनुभव पनि उत्ति नै बढ्दै जान्छ । जसले समाज र बाह्य संसारमा हुने घटनालाई विश्लेषण गर्न सहयोग पुर्याउँछ । तर उमेर र अनुभव वा उमेर र परिपक्वताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ भन्नु पुर्ण सत्य होईन ।
कुनै युवाले कम उमेरमै देश विदेशको भ्रमण गरी विविध भाषा सिक्नुका साथै विभिन्न कामको अनुभव हासिल गरेको छ भने के जीवनभर एउटै गाँउमा बसोबास गर्दै आएको उसको बाजेको भन्दा उसको अनुभव कम हुन सक्छ र ? यस्तो स्थितिमा हाम्रो मानसपटलमा एक ६० बर्षे अपरिपक्व प्रौढ तथा अर्को २५ बर्षे तर परिपक्व युवाको तस्बिर प्रस्तुत गर्दछ । तसर्थ राजनीतिक र सामाजिक आन्दोलनमा सकारात्मक योगदान पुर्याउने बृद्ध पुस्ताप्रति उच्च सम्मान गर्दै नेपाली समाजमा केबल दाह्ी, जुङ्गा र कपाल फुल्नुलाई नै आफ्नो योग्यता र क्षमताको प्रमाणपत्र ठान्ने मानसिकताको अन्त हुनु जरुरी छ ।
शारीरिक रुपमा सक्रिय हुन नसक्ने उमेरमा पुगेकाहरु आफ्नो परिपक्वता, उमेर र वरिष्ठतालाई हतियारको रुपमा प्रयोग गर्दै सधैं पदमा रहन कोशिस गरिरहने संस्कारको अन्त हुन जरुरी छ । वास्तवमा उर्जावान शक्ति युवाहरुलाई सहभागिताबाट वञ्चित गरेर उनिहरुले देशलाई नै पछाडि धकेलिरहेका हुन्छन् । कतिपय योग्य, कुसल र सक्षम नेतृत्व गर्न सक्ने उर्जावान युवाहरु समयमा सहभागिताको अवसर नपाउँदा राजनीतिबाटै पलायन भई अरु क्षेत्र र पेशा ब्यवसायमा सिमित हुन बाध्य छन् ।
आन्दोलन र प्रदर्शनलाई मात्र दृष्टिगत गरेर उर्जा र आवाजका निम्ति मात्रै राजनीतिक पार्टी र सामाजिक संघसंस्थामा युवाहरुको सहभागिताले मुुलुुक समृद्ध बन्न सक्दैन । युवाहरु बढि मात्रामा संलग्न रहेको वैदेशिक रोजगारलाई आवश्यकता अनुसार व्यवस्थित र सुरक्षित बनाउन त्यस्तै बिप्रेषणकको उचित व्यवस्थापन गर्न पनि त्यतिकै जरुरी छ ।
स्वदेशमा मध्यम र उच्च शिक्षा प्राप्त युवा विदेश पलायन हुने प्रवृत्ति तीव्र रहनु, आवश्यक सामाजिक, आर्थिक सेवाहरुको उपलब्धता र पहुँच न्यून हुनु, सकारात्मक सोच, व्यावहारिक र व्यावसायिक शिक्षा प्रदान गर्न नसक्नु, दुव्र्यसन, अपराध र अन्य असामाजिक कार्यबाट युवाहरुलाई मुक्त गर्न नसक्नु जस्ता समस्याहरु विद्यमान छन् । बजारको दक्ष जनशक्तिको माग र युवाहरुलाई प्रदान गरिने शिक्षाबीच सन्तुलन र अन्तसम्बन्ध हुन नसक्दा धेरै शिक्षित युवाहरु बेरोजगार हुन बाध्य छन् र हातमा डिग्री लिईकन पनि खाडि मुलुकमा श्रम गर्न बिबश छन् । त्यसर्थ युवाका ती तमाम समस्याहरुको समयमै उचित सम्बोधन हुन सके र युवाका जोश, जाँगर, उत्साह, सिर्जनसिलता, सोच र विचारको कदर हुन सके मात्र हामिले परिकल्पना गरेको सम्बृद्ध नयाँ नेपाल सम्भव छ ।

शेयर गरौ

ताजा अपडेट